नेपाल टी-२० लिगको विवाद छानबिन गर्न राखेपले बनायो कार्यदल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल टी–२० लिगका भइरहेको विवादका विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । परिषद्का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्सीय कार्यदल गठन गरेको हो।
समितिको सदस्यमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई छन्।
समितिले १५ दिनभित्र परिषद्समक्ष प्रतिवेदन बुझाउने जनाइएको छ। बुधबार बसेको बैठक परिषद्को बैठकले विदेशी खेलाडीहरूको श्रम स्वीकृति एवं प्रतियोगिता सञ्चालनको सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान) सँग आवश्यक प्रमाण कागजात माग गरेको छ।
यसैबीच, क्यानले हाल भइरहेको नेपाल टी२० लिगमा भएका भनिएका ‘म्याच फिक्सिङ’का प्रमाणसहित क्यानको केन्द्रीय कार्यालय वा एसियूमा उजुरी बुझाउन अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारी गरेर क्यानले प्रतियोगिताका दौरान भएका भनिएका म्याच फिक्सिङबारे आफ्नो ध्यानाकर्षण भएको जानकारी दिँदै त्यसको प्रमाणसहित क्यानको केन्द्रीय कार्यालय वा प्रतियोगिताको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन अनुरोध गरेको छ ।
प्रतियोगिताका दौरान खेलमा मिलेमतो भएको आरोपसहित नेपाल टी२० लिगका कमेन्टेटर सचिन तिमल्सिनाले मंगलबार फेसबुकमा भिडियो सेयर गरेका थिए । त्यसयता नेपाल टी-२० लिग विवादमा तानिएको छ । झनै नेपालका पूर्व कप्तान र प्रतियोगितामा सहभागी काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ले आफ्नो टोलीका एक खेलाडीलाई खेल मिलेमतोको प्रस्ताव आएको अभिव्यक्ति दिएपछि प्रतियोगिता र क्यान दबाबमा परेको हो ।