विकासको सपना, रवीन्द्र अधिकारी अनि पोखरा विमानस्थल

चाहे कार्यकारी भूमिकामा रहेर होस् अथवा सामान्य भूमिकामा रहँदा होस्, विद्यार्थी जीवनमा होस् सधैं राजनीति र मानव जीवनलाई बुझेरै विकास, समृद्धिमा जोड दिने रवीन्द्र अधिकारी आफू विद्यार्थी हुँदा धेरै विद्यार्थीको सहुलियत या अधिकारको लागि आवाज उठाउने अग्रणी थिए ।

स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने विद्यार्थीबीच बहस चलाउने एक गतिशील युवा नेताका रुपमा परिचित थिए । केही गर्न खोज्ने, चाहना राख्ने तर गरिनपुर्याउने नेताहरू त धेरै देख्न पाइन्छ नै तर रवीन्द्र अधिकारी प्रष्ट दृष्टिकोण, समय चिन्न सक्ने, सबैसँग राम्रो समन्वय गरेर समस्याको समाधान दिन सक्ने नेताका रुपमा मानिएका हुन् ।

उनलाई देश विदेशमा रहने सबै नेपालीले चिन्ने अवसर व्यवस्थापिका संसद्को विकास समितिका सभापति रहेर उल्लेखनीय भूमिका निर्वाह गरेका बेला थियो ।

भूकम्पको पीडा र भारतको अमानवीय नाकाबन्दीबाट जनतालाई पर्न गएको संकटको दीर्घकालीन समाधान अर्को देशसँग पनि सन्तुलित सम्बन्ध बिकास गरेर मात्र देशले निकास दिन सक्छ भन्ने प्रष्ट धारणा राखेका रविन्द्र यहाँनिर पनि आफ्नो कुशल कुटनीति र समन्वय गर्न सक्ने नेताको रूपमा स्थापित भएका थिए ।

उनको त्यस्तो बहुआयामिक क्षमताकै कारण एक दिन रविन्द्रलाई जस्तो नेतालाई धेरैले देशको प्रमुख कार्यकारी भूमिकामा, देशको प्रधानमन्त्रीको रूपमा हेर्न थालिसकेका थिए ।

२०३४ सालमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिक्रमण सुरू गरिएको थियो । २०४६ सालपछि पञ्चायत ढल्यो प्रजातन्त्र आयो तर पनि स्वार्थ र दाउपेच त हुने नै भयो विमानस्थल निर्माणको अवरोधका रुपमा ।

कसैले समन्वयकारी भूमिका पनि निर्वाह गर्न सकेको थिएन । निर्माणको काम नभएपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल २०६८ चैत ११ मा विज्ञप्ति प्रकाशन गर्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजक एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समितिका संयोजक रवीन्द्र अधिकारी नेतृत्वमा संघर्षका कार्यक्रम अगाडि बढ्यो ।

पोखरेली जनतासँगै उनले २०६९ सालको दसैं, तिहारजस्ता चाडपर्वमा समेत ‘रिले अनसन’ मा सहभागी भए । विमानस्थल बन्नुपर्छ भनेर निरन्तर दबाबमूलक आन्दोलन भए । अन्ततः तत्कालीन प्रधानमन्त्री केपी ओलीले वैशाख २०७४ वैशाख १ गते भव्य समारोहबीच विमानस्थलको शिलान्यास गरेका थिए ।

लामो समयसम्मको संघर्ष र निरन्तर खबरदारीको उपलब्धि मान्नुपर्छ २०२३ को पहिलो दिन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएर उद्घाटन पनि भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थल उद्घाटन गरे ।

त्यस दिन पोखरेलीको लामो समयदेखिको सपना साकार भएको दिन हो । समग्र पोखरेली जनतासँगै रवीन्द्र अधिकारीको एउटा महत्वपूर्ण सपना साकार भएको छ । हामीमाझ नभए पनि उनको योगदान आजीवन अविस्मरणीय रहनेछ । जिवित भएका भए सबैभन्दा बढी खुसी हुनेमा उनी पनि पर्थे ।

नेपालमा पर्यटन र कृषिलाई प्राथमिकतामा राख्न पर्छ भन्दै आएका नेता जब पर्यटन मन्त्री भए, तब विमानस्थल २४ घण्टा खुला राखिनुपर्छ भन्ने धारणा ल्याए । अन्तर्राष्ट्रिय विमानस्थल थप्नुपर्ने त पहिलेदेखिकै सपना थियो ।

पर्यटन वर्ष २०२० घोषणा गरेर धेरैभन्दा धेरै पर्यटकलाई नेपालमा स्वागत गर्ने अवधारणा मूलतः अधिकारीकै हो । विश्व नै नराम्ररी प्रभावित भएको कोरोना महामारीका कारण पर्यटन वर्ष पनि प्रभावित हुनु स्वाभाविक थियो । तर त्यसको दूरगामी सकारात्मक असर भने आगामी दिनमा पनि देखिने नै छ ।

गणतन्त्रपछिको इतिहास कोट्याउदै आउने हो भने गिरिजा र प्रचण्ड बीचको भद्र सहमति पालना भएन भन्ने सुनियो । पछि सुशील र केपी ओलीबीच भद्र सहमति पनि पालना नहुँदा झनझन् गणतन्त्र पछिको अस्थिरताको बाटोमा मुलुक अघि बढेको सर्वविदितै छ । पछिल्लो समय देउवा र प्रचण्डबीचको सहमति र अलग हुने प्रक्रियाले पनि धेरै कुरा छर्लङ्ग बनाएकै छ ।

गालीगलोज र आरोप प्रत्यारोपको राजनीतिले जरा गाढेका बेला राजनीतिमा एक नयाँ पात्र नयाँ शक्ति बनेर चमत्कारिक रूपले उदाएका छन् रवि लामिछाने । छोटो समयको राजनीतिपछि नै उनी देशको गृहमन्त्री बनेका छन् । यो चानचुने उपलब्धि होइन । युवाको आवाज, सुशासन, विकास निर्माणमा राम्रो भूमिका कसरी निर्वाह गर्छन् भन्ने कुराले रविको भविष्य तय हुनेछ ।

हिजो यताबाट उता र आज उताबाट यता छलाङ् मार्न सकेका प्रचण्ड जेनतेन आफ्नो अस्तित्व जोगाउन सफल रहँदै देशको बागडोर सम्हाल्न पुगेका छन् । आज दौरा सुरूबालमा सजिएका पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको रूपमा देशले तेस्रो पटक पाएको छ ।

यो उनका लागि ठूलो अवसर हो, स्थिर राजनीतिक वातावरण बनाएर देशलाई समृद्धिको बाटोमा हिँडाउने । राजनीति हो हल्का कुटनीति, लेनदेन, अंकगणितले भूमिका खेल्ने हुँदा यसरी गठबन्धन तोडेर लगभग एउटै विचारधारा बोकेको माओवादीलाई देशको ठूलो पार्टी एमालेको सहयोगमा अन्य स–साना दलहरू मिलाएर राजनीतिक अन्योलतालाई निकास दिनुपर्ने बाध्यात्मक आवश्यकता बनेको हो ।

एमालेको प्रथम रणनीति पनि पुरानो गठबन्धन तोड्नु थियो । आफ्नो सरकार बन्ने गणित नबनेपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीको ‘चाणक्य नीति’ र कुशल कुटनीतिले राम्रैसँग अर्को ठूलो दलसहितको गठबन्धन भत्काउन सफलता मिलेको हो ।

पहिले र अहिलेको गठबन्धनमा के फरक ?

यो प्रश्न सवाल उठ्न सक्छ । उठिरहेको पनि छ । बाहिर सुनिँदा हिजोको गठवन्धनको एकमात्र उदेश्य प्रतिगामी एमाले देशबाट निमिट्यान्य पार्ने थियो । एमालेलाई निमिट्यान्न पार्न सकेन । प्रतिगामी एमाले भएको कुरा पुष्टि पनि भएन । गठबन्धन असफल भयो । आजको यो नयाँ गठवन्धन सबै देश बनाउने हुट्हुटी बोकेकाहरूको बनेको छ । नयाँ युवा अनुहारहरू देखिएका छन् । सिद्धान्त फरक भए पनि देश बनाउने एकमात्र उद्देश्यले लागिपर्ने हो भने असम्भव केही छैन।

अबका दिनमा अरु दलहरु पनि मिल्दा अझ राम्रो हुनेछ । पुराना कुराहरू बिर्सिएर नेकपा समाजवादीका नेताहरु एमालेमा फर्किएर जति सक्दो छिटो एक भएको राम्रो । पछि माओबादीसँग पनि कार्यगत एकता निरन्तर गर्दै सैद्धान्तिक अन्योलताहरू चिर्दै वामपन्थीहरूको एउटै पार्टी बनाउन सके देशको हितमा हुनेछ ।

देशमा प्रमुख दुई धार र अन्य १-२ अर्थात सबैगरेर ३-४ पार्टी भन्दा बढी जरूरी छैन । बामपन्थी धार, डेमोक्रेटिक धार, परम्पराबादी धार (राप्रपा) मधेसी पहिचान दर्शाउने मधेसी दल एक । यति भए पर्याप्त हुन्छ भन्ने लाग्छ ।

मुलुकको अर्थतन्त्र सुधार्नुपर्ने ठूलो चुनौती अगाडि तेर्सिएको छ । आफैं उत्पादन गरेर आफैं बजारमा लान सक्दा फेरि जति फाइदा लिन सकिन्छ अरूको किनेर ल्याएर बजारसम्म बेच्न लैजादा अवश्य कम आम्दानी हुन्छ । पुँजीवादी देशमा उत्पादन गर्नेहरू भन्दा बिचौलिया अर्थात् बीचमा बेच्नेहरूले बढी कमाउने परिपाटी धेरै हुन्छ ।

समाजबादी मुलुकमा मूल्य निर्धारण सरकारले गर्ने हुँदा ठगी नहुने हुन्छ । मेहनत गर्ने र कम मेहनत गर्नेको पनि एउटै आम्दानी हुँदा कता कता सेल्स गर्ने उत्साह घटेको हुन्छ । यसको अर्थ हो उत्पादन समाजवादी अर्थनीति खरीद बिक्री वितरण पुँजीबादी अर्थनीति अनुसार बजार प्रतिस्पर्धाका लागि छोडिदिने ।

यसरी अर्थको मोबिलाइज हुँदा राजश्व बढ्ने, उत्पादन बिक्री भए बैङ्कहरूले लगानीको लागि ऋण दिन सक्ने भए । यसरी पिपुल, बैङ्क, सरकारले ‘विन विन’ अवस्थामा जान सक्ने हुन्छ । यस्तो हुन सक्यो भने जाहा पनि उत्पादन र बजार फैलाएर नयाँ कार्यक्रम ल्याउन सकिन्छ । विदेशी सहयोग नभए आफ्नै देशको बैङ्क, सरकार र जनता मिलेर धेरै रोजगार सिर्जना गर्न सकिन्छ ।

सपनाको कुरा गर्दा हावामा उडाउने चलन छ । प्राथमिकताको आधारमा कार्यक्रम तय गर्नु महत्वपूर्ण हो भने सँगसँगै सपना देखेर दूरगामी योजना ल्याउनु पनि महत्वपूर्ण रहेछ भन्नेकुरा यस अगाडिको ओली सरकारले प्रष्ट पारेको छ ।

तत्कालीन सरकारको वकालत गर्न खोजेको हैन तर गर्न खोजिएका सपना देखाइएका कामहरू कतिपय गिज्याएर उडाइयो, कतिपय योजना रोकियो तर धेरै महत्वपूर्ण योजनाहरू बनिरहेका छन् । जो सरकार भए पनि जसको नेतृत्वमा भए पनि देश र जनताको लालि गर्न खोजिएका राम्रा काम हरूको स्वागत, साथ, सहयोग गर्ने कल्चरमा विकास गर्न पाए ।

एउटा छ, मैले साँचै निदाउँदा मात्र सपनामा देखिरहने सुरौदी खोलामा टिपको रह, दोभान र खाडखोलामा पटकपटक बाँध हालेर माछा पालेको, फिसिङ्ग गरेको, पौडी खेलेको सपना । हुन त बच्चामा रह कति गहिरो छ भनेर भाटोले नाप्न खोज्दा भाटो डुबेपछि हात पनि डुबाउँदै गर्दा रहमा खसेको कारणले पनि हुन सक्छ । सपनामा आइरहन्छ । रहर छ कुनै दिन बुढेसकालमा सुरौदीमा माछापालन गर्ने ।

आजकल दिउँसै देखिरहने सपनाहरू सबैमाझ राख्न चाहान्छु । भरत पोखरी, निर्मल पोखरी, फोक्सिङ्ग, क्रिस्तीको डाँडो । यो डाँडोबाट उत्तरतिर देखिने हिमाल, मनमोहक पोखरा, नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र सेती नदी । दक्षिणमा सुरौदी र हरियाली बन जंगल सालघारी भिरालो ठाउँमा रहेका हाम्रा घरहरू, बाघ, भालु, अन्य जनावरलगायत आजकल लाखुको बिगबिगी बढेको देखिन्छ । पूर्वमा सूर्य चन्द्रमा उदाएको देख्न पाइन्छ भने पश्चिममा अस्ताउँदै गरेको दृश्य अत्यन्त मनमोहक छन् । हिमालसँगै जोडिएका ताराहरूदेखि पुरै आकासका टहटह झलमल ताराहरू देख्न पाइन्छ । गाउँघरमा जुनकिरी पनि ।

कयौंपटक जस्तै यसपालि पनि चुनाव सकिएपछि एक रात डाँडोमा साथीहरूसँग नयाँ विमानस्थल हैर्दै बार्बिक्यू खाँदै गर्दा लाग्यो यो हाम्रो पूरै डाँडो एउटा आन्तरिक र विदेशी पर्यटक बोलाउने थलो बन्दछ । नेपालमा आउने, हिमाल चढ्नेहरू समय धेरै भएका तर पैसा कम बोकेका हरू आउँदछन् । उनीहरूले गर्ने खर्च कमै हुन्छ ।

थोरै समयलाई सदुपयोग गर्न सिधै विदेशबाट पोखरा आएर हाम्रो दक्षिणी भेकमा पनि एक हप्ता मध्येको दुई रात बिताएर राम्रो मनोरञ्जन लिन सक्ने ठाउँहरू बनाउन सक्यौं भने लाभ लिन सकिन्छ । विभिन्न देशबाट विभिन्न सिजनमा धैरै पर्यटक आउने वातावरण बनाउन सकियो भने झनै फाइदा छ । धेरै आउँदा जहाजको टिकट अलि सस्तो तर यहाँ आएपछि बढी खर्च गर्ने वातावरण बनाउन सकिए धेरै लाभ लिन सकिनेछ ।

हाम्रा डाँडाहरुको सदुपयोगले कति जनाको रोजगारीको व्यवस्था गर्न सकिन्छ ? यतातिर पनि ध्यान दिनुपर्छ । आफैं उत्पादन गरेर माछा मासु पालन ब्यवस्थित गर्न सकिन्छ । विभिन्न सागसब्जीहरूको उब्जनी गर्न सकिन्छ । साना, मझौला विभिन्न कल कारखाना, घरेलु उद्योग, सप्लायर्सको स्टोर स्थापना गर्न सकिन्छ । कमसेकम ५ हजार परिवारको रोजगार यहीँ निस्कन्छ ।

आफैं कति खपत गर्न सकिन्छ, कसरी ?

डाँडाभरि कमसेकम सुरूमा १०० र बढ्दै जाँदा १००० सम्म पनि, संसारकै उत्तम फ्रेस बार्बिक्यू खान पाइने ठाउँ, पसलहरू, होटलहरू देशी विदेसी पाहुनाहरूलाई, होलिडे घुमघाम गर्न मिल्ने स्थानहरु बनाउने । एक दिनमा १०० देखि ५०० सम्म खसी बोका, रागा, बंगुर, कयौं कुखुरा, माछा, सब्जीहरू, दूध, लगायत पुरै हाम्रो ठाउँमा खपत हुन्छ ।

हाम्रा भरतपोखरी, निर्मलपोखरी, फेक्सिङिग जोड्ने बाटाहरूमात्रै ६ पक्की बाटाहरू तयार भैसकेका छन् । ती बाटा घाटाहरूको सदुपयोग गरौ । पाहुनाहरू ओसार्न, हाम्रा उत्पादनहरू बजार पुर्याउन, घरमा आउन जान बजारबाट आवश्यक बस्तु ल्याउन । आउँदा पनि जाँदा पनि भरी सवारी साधन चलाउन सकियोस्, जसले अर्थ उत्पादनमा अर्थ राखोस् ।

कल्पना गरौं, हाम्रो गाउँको जनसंख्या बढ्ने छ । बैङ्क, हस्पिटलहरू पनि आउने छन् । देशी विदेशी पर्यटक भित्र्याएर कयौंको रोजगार सिर्जना गर्न सकिन्छ । कमसेकम १० हजार जनाको रोजगार सिर्जना गर्ने कुरा त्यति अप्ठेरो नहोला । यसमा सरकारको ध्यान जान भने जरूरी छ । पोखरा महानगरपालिका, प्रदेश सरकार, केन्द्र सरकार, सबै जनप्रतिनिधिहरू एक भएर ब्यापारीहरू समेटेर गर्न सकिन्छ । उत्पादन पनि खपत पनि हुने योजना भएकोले बैङ्कहरू लगानी गर्न उत्सुक नै हुने छन् ।

यस्ता डाँडामा मोटर बाटो व्यवस्थित हुनु जरुरी छ । सानो रेल जुन कास्कीका जनप्रतिनिधिहरूले आफ्नो घोषणा पत्रमा पनि राखेका छन्, त्यसको व्यवस्था गर्न सकिन्छ । ठाउँ ठाउँमा पार्क । टेनिस पार्कहरू । अन्य खेल, इभेन्ट गर्न मिल्ने खुला स्थानका लागि जता बसे पनि भ्यूपोइन्ट भएकाले ठाउँ ठाउँमा सुरक्षित क्याम्पको व्यवस्था गराउने जसले गर्दा पर्यटकहरु सहज रुपमा बस्न सकुन् ।

धेरै छन् सम्भावनाहरू । एकैचोछि सम्भव हुँदैन । बिस्तारै गर्दै जाने हो भने आगामी १० वर्षमा खाडीतिर, भारततिर गएका १ लाख नेपालीहरू फर्काउन हाम्रो यो भेकले मात्र योगदान दिन सक्छ । यसरी नै अन्यत्र पनि ठाउँको विशेषता अनुसारको योजना बनाउँदै जाने हो भने धेरै नेपालीलाई रोजगार दिएर परदेशिएका नेपाली नेपाल फर्कने वातावरण बनाउन सकिन्छ ।

मेरो जापान बसाई २५ वर्ष पुग्यो । उमेर ४८ वर्ष । नेपालमा भन्दा बाहिर बसेको समय धेरै भयो । बाहिरी संस्कृति र सभ्यता अनि रहन सहनमा केही परिवर्तन आउनु सामान्य कुरा हो । तर म आफंैले के सिकेर केमा परिवर्तन गर्दा राम्रो हुन्छ, हाम्रो हुन्छ र देशमा योगदान दिन सकिन्छ भन्ने हिसाबले आफूलाई परिवर्तन गर्ने हो । यस अर्थमा भन्न सकिन्छ परदेश बस्नेहरूको बसेर फर्केकाहरूको अनुभवलाई क्यपिटल गर्नु उपयोगी नै हुन्छ हर हिसाबले हर क्षेत्रमा । विशेषतः फुड कल्चरको विकासका लागि ।

परदेशिएकाहरूको सीप, अनुभव, पुँजीलाई इमान्दारीसँग सम्मानपूर्ण नेपालमा सदुपयोग गर्ने हो भने पहिला परदेशीलाई नेपाल फर्क नभनी नेपालबाट धेरै नेपाली परदेश जानबाट रोक्न सकिन्छ । जब पहिलो चरणमा रोक्न सकिन्छ । जब लगानीका धेरै आधारहरू तय हुन्छ । अर्थतन्त्रले एउटा गति लिन्छ । यस्ता भावनाहरू बेला बेलामा गीत, लेख, रचनाहरूबाट बाहिर ल्याउने प्रयास भने निरन्तर केही वर्ष अगाडिबाट गरिरहेको छु । कसैलाई गर भनेर गरिने कुरा हैनन् तर अनुभव खुला रुपमा साझा गर्दा कसैलाई अनुकूल मिल्दा ठ्याक्कै अनुसरण गर्न सजिलो हुन्छ र छिटो धेरै मानिससँगै अगाडि आउन सकिन्छ भन्ने नै हो ।

यसरी लेख लेखिरहदा हाम्रो गाउँको भाइले बनाएको कुखुराको बार्बिक्यू र हामी दुई जापानबासी नेपाली, तीनजना नेपालमै बस्ने नेपाली साथी, त्यो साँझको अनुभव राख्दै गर्दा दाइ रवीन्द्र अधिकारीको डाँडैभरि फरक फरक रूटबाट पक्की बाटो बनाएर खानेपानीको ब्यवस्था गराउने कार्यक्रमको कल्पना गर्दैगर्दा बुटिक घरहरू, होमस्टे (घरबास), पर्यटनस्थल निर्माण गरेर पर्यटकहरु पोखराको दक्षिण भेकमा भित्र्याउने महत्वपूर्ण सोच थियो तर बाहिर ल्याउन नपाउदै हामीबाट टाढा हुनु भयो ।

यसो भनिरहँदा नेकपा एमालेको कास्की क्षेत्र नम्बर २ को प्रतिबद्धता पत्रमा हाम्रो पुरै डाँडोलाई समृद्धिसँग जोड्न सानो रेल कुदाउने योजना आएको छ । यो अत्यन्तै महत्वपूर्ण छ । प्रतिनिधिसभा जनप्रतिनिधि, प्रदेशसभा, स्थानीय जनप्रतिनिधि, सरकार, स्थानीय जनता मिलेर कमसेकम यो डाँडोमा मात्रै लाखौंको नयाँ रोजगार सिर्जना गर्न सकियोस् ।

अँ साँच्चै बिकास आचार्य भाइले एउटा सिङ्गै कुखुराको फरक फरक भागको बार्बिक्यू, तरकारी बनाएर मिठो गरी नयाँ विमानस्थल, हिमाल, चन्द्रमा र ताराहरू हेर्दै हामी सबैले सपना देखिरहेका थियौं । अब त विमानस्थल सञ्चालनमा पनि आइसकेको छ । छिटै विदेशबाट सिधै पोखरा जान पाइने आशा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *