उपचार खर्च अभावमा ‘जनयुद्ध’ का कमाण्डर : न पार्टीले हेर्यो, न सरकारले

विराटनगर । माओवादी सशस्त्र ‘जनयुद्ध’ का बेला भिडन्तमा पटक पटक भिडन्तमा सहभागी भएर घाइते भएका संखुवासभाका बाबुराम राई (विवश) लाई उपचार गर्न खर्च अभाव भएको छ । पहिले घाइते भएर अलि बिसेक भएका उनलाई टाउकोको समस्याले सताएको छ ।

सिकिस्त बिरामी परेपछि उनी उपचाका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना भएका छन् ।

‘युद्ध’ को समयमा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यस बेला २६ दिनको उपचारपछि मात्र उनको होस आएको थियो ।

त्यसयता उनी बेला बेला उपचार गराउँदै औषधि सेवन गरिरहेका थिए । केही दिनदेखि टाउकोको चोट बल्झेर पिप बग्न थालेपछि उनी फेरि अस्वस्थ बनेका हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको थियो ।

प्रतिष्ठानका चिकित्सकले विराटनगरस्थित न्यूरो अस्पतालमा रेफर गरेपछि उनी आएका हुन् । तीन दिनअघि प्रतिष्ठानको आकस्मिक विभागमा उनलाई भर्ना गरिएकामा आइतबार बिहान चिकित्सकले रेफर गरेको उनका सहयोगी लविन्द्र खड्काले बताए ।

चिकित्सकले टाउकोको शल्यक्रिया गर्न भनेको उल्लेख गर्दै खड्काले तर खर्च अभावमा समस्या परेको बताए ।

केही रकम जम्मा गरेर सिटी स्क्यान गराएको सुनाउँदै उनले तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि खर्च अभावमा हुन नसकेको बताए ।

‘जनयुद्ध’ काल र माओवादी शान्ति प्रक्रियामा आइसकेपछि समेत गरी उनी ९ पटक जेल परेका छन् । उनी माओवादीका तर्फबाट प्रदेश १ प्रदेशसभामा समानुपातिक तर्फको बन्द सूचीमा थिए ।

२०५७ मंसिरदेखि माओवादीले थालेको ‘जनयुद्ध’ मा लागेका उनी तेह्रथुमको पोक्लाबङ, पाँचथरको गोपेटार, संखुवासभाको चैनपुर, सिन्धुलीको भिमान, ओखलढुङ्गाको रुम्जाटार, सिरहाको लहानमा तत्कालीन सुरक्षाफौजसँगको भिडन्तमा लडेका थिए ।

यसैगरी काभ्रेपालान्चोकको भकुण्डेवेसी, मोरङको बेलबारी, जाँते, झापाको विर्तामोड चेकपोष्ट आक्रमण, सुनसरीको दुहवी चेकपोष्ट, भोजपुरको रिपिटर टावर आक्रमण, संखुवासभाको तुम्लिङ्टार भिडन्त, इलामको मंगलबारे भिडन्तमा पनि उनी सहभागी भएका थिए ।

उनको श्रीमती विमला चौहान (सीमा) ‘जनयुद्ध’ कै बेला मारिएकी थिइन् । उनकी बहिनी पनि जनयुद्धमा सहभागी भएकी थिइन् । राई ०६१ सालको फागुनमा मोरङको जाँतेमा भएको भीडन्तमा पनि सिकिस्त घाइते भएका थिए । त्यसबेला उनको भारतको सिलिगुढी लगेर उपचार भएको थियो ।

भारतको जलपाइगुडी र कलकता गरी ३ वर्ष जेल बसेका उनी झापाको भद्रपुर, काठमाडौं हनुमान ढोका, जावलाखेल, खाँदबारी, ललितपुर, विराटनगर, पथरी, चैनपुर, उदयपुरलगायतका ठाउँमा उनी ९ पटक जेल परेका छन् ।

आफन्तका अनुसार मुलुकमा परिवर्तनका लागि भनेर लडेका उनलाई पार्टी र कुनै पनि नेताले उपचारका लागि सोधखोज गरेका छैनन् ।

पार्टी पटक पटक सत्तामा पुगेको र हालै गठित सरकारको नेतृत्व समेत गरिरहेको अवस्थामा पार्टीका नेताहरुले उनको उपचारमा सहयोग गर्नुपर्ने आग्रह परिवार र उनका सहयोगीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *