प्रदेश १ प्रमुखद्वारा सरकार गठनका लागि आह्वान

विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार आह्वान गरेका छन् । पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

पछिल्लो राजनीतिक समीकरण एवं गठबन्धन अनुसार प्रदेशमा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो छैन । पहिलो दल बनेको नेकपा एमाले र गठबन्धनमा सहभागी अर्को दल माओवादी केन्द्र दुवैले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ प्रदेश सरकार गठन हुनेछ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेका छैनन् ।

मुख्यमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश १ को प्रदेशसभाको सदस्यलाई दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान भएको हो ।

प्रदेशसभामा एमालेका ४० प्रदेशसभा सदस्य छन् । कांग्रेसका २९ र माओवादीका १३ सांसद छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६, नेकपा एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पाटीसँग एकजना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन बहुमत पु¥याउनका लागि ४७ संसद आवश्यक पर्छ ।

यसैबीच, प्रदेश १ प्रदेशसभाको पहिलो बैठक आइतबार सुरु भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको हो ।

पहिलो बैठकमा दुईवटा अध्यादेश पेश गरिएको छ । एउटा नियमावली पारित गरिएको छ ।

बैठकमा प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संशोधन अध्यादेश २०७९ पेश गरिएको हो । दुवै अध्यादेश प्रदेश प्रमुखले गत असोज ११ गते जारी गरेका थिए ।

बैठकले प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधनसहित पारित गरेको छ । उक्त नियमावली अनुसार अबको प्रदेशसभा अघि बढ्ने छ । बैठकले प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । थापाको निधन कात्तिक २३ गते भएको थियो ।

प्रदेशसभाको अर्को बैठक आगामी २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *