बालिकाविरुद्ध हिंसाका घटना बढेकामा चिन्ता

काठमाडौँ । दिनदिनै बढ्दै गइरहेको बालिका तथा किशोरीमाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कार, एसिड आक्रमण, बाल विवाह, बालिकाहरूमाथि हुने विभेदप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले आफ्नो १८ औँ साधारण सभाको अवसरमा आयोजित बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका विषयक छलफलका सहभागीले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

राष्ट्रिय महिला आयोगकी कार्यवहाक अध्यक्ष कृष्णाकुमारी खतिवडाले छोरीमाथि हुने सबै प्रकारका हिंसाविरुद्ध कानूनी सचेतना र दोशी उपर कार्वाहीका निम्ति लाग्नुपर्ने कुरामा जोड दिइन् ।

अधिवक्ता इन्दु तुलाधरले बालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणमा ध्यान पुर्‍याउन नसकेका कुुरालाई जोड दिँदै तिनै तहका सरकार र निकायहरुमा लैङ्गिक मैत्री नीति, कार्यक्रम, बजेट र त्यसको कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने र त्यस्ता कार्यक्रममा नागरिक संघसंस्था सञ्जालको महत्वपूर्ण भूमिका रहने बताइन् ।

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ, राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेती, राष्ट्रिय युवा परिषद्का उपसचिव चन्दा थापा, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेल, सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर, देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीलगायतको कार्यक्रममा सहभागिता थियो ।

सरकारले बालिका तथा किशोरीमा लगानी बढाउनु पर्ने, उनीहरुको संरक्षणमा थप ध्यान दिनुपर्ने, बालमैत्री, युवामैत्री, लैङ्गिकमैत्री अभियानलाई अघि बढाउने प्रतिवद्धता सहित जागृति बाल तथा युवा सरोकार नेपालले गरेका कार्यक्रम र उपलब्धिको सहभागीले प्रशंसा गरेका थिए ।

सुमिक्षा खड्काले बालिका तथा किशोरी सूचना तथा स्रोत केन्द्र, बालमैत्री शासन प्रवद्र्धन, बाल श्रम, आधुनिक दासता, हिंसा, दुर्व्यवहारमा परेकाको उद्धार, बालिका सशक्तिकरण, विद्यालय पोषण कार्यक्रम, विद्यालय भवन निर्माण, कानूनी सहायता, युवामैत्री स्थानीय शासन, जिविकोपार्जन सहित गरेका कार्यहरु प्रस्तुत गरेकी थिइन् ।

बालिका तथा किशोरीहरुको संरक्षणका लागि योगदान पुर्‍याएको भन्दै अभियन्ता मुस्कान खातुनलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष तिलोत्तम पौडेलको सभापतित्वमा भएको कार्यक्रम महासचिव दिपक शर्माले सञ्चालन गरेका थिए ।

कार्यक्रममा समाज कल्याण परिषद् सदस्य नारायण गिरी, युएनडिपिकी विनिता कार्की, गैरसरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराईसहित १५ वटा नागरिक सङ्गठन सञ्जाल, ८ वटा विकासका साझेदार संस्था, २५ वटा नागरिक सङ्गठन, किशोरी तथा किशोर सञ्जालका प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागिता थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्यहरु कल्पना मिया, सोविता गौतम, विना लामा तथा बागमती प्रदेश सभा सदस्य, माननीय उर्मिला अर्यालको पनि सहभागिता थियो ।

सांसदहरुले बालबालिका तथा किशोरीहरुको हकहित अधिकार संरक्षणको निम्ति ऐन कानून निर्माण, सुधार र कार्यान्वयनको निम्ति पहल, गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

२०६१ सालमा स्थापित भएको बालक्लबका पूर्व सदस्यहरु अगुवाईमा स्थापित संस्थाको १८ औँ साधारण सभा बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अभियानलाई स्थापित गर्ने, बालबालिका शिक्षा स्वास्थ्य संरक्षण, जिविको पार्जन, जोखिममा परेकाको उद्धार पुनःस्थापना र कानूनी सहायतामा थप क्रियाशील हुने निर्णय गर्दै सम्पन्न भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *