शोकमा शताब्दी उमेरकी ‘ब्राजिलियन मदर अफ दि इयर’

काठमाडौं । फुटबल लेजेन्ड पेले दुई दिनअघि अस्ताए । उनको निधनपछि विश्वभरका फुटबलप्रेमी शोकाकूल बनेका छन् ।

सन् ५० को दशकमा आधुनिक फुटबल विश्व मानचित्रमा फैलिदै गर्दा ब्राजिललाई सन् १९५८, १९६२ र १९७० विश्वकपमा उपाधि जिताउन टिममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यसताका सीमित फर्मेसन र रणनीतिमा आधारित युरोपियन फुटबलको अगाडि ब्राजिलियन टिमले ‘freeflowing attacking’ फुटबल प्रदर्शन गरेर हरेक प्रशंसकको मन बहलाउन सफल भयो । ब्राजिलले आफ्नो बलियो खेल कौशलका कारण आफ्ना प्रतिद्वन्दीहरुलाई पनि अवाक र सोचमग्न बनाएको थियो । पेलेले ब्राजिलियन साम्बा शैलीको फुटबललार्इ विश्वसामु परिचित गराएका थिए ।

पेलेको सफलतामा उनको बुवाको ‘मेन्टरशिप’ र आमाको हौसला महत्वपूर्ण रहेको मानिन्छ । तर पेलेको करियरमा सबैभन्दा प्रभावकारी भूमिका आमा ‘सेलेस्टे’ को रहेको पेले आफैंले उल्लेख गर्ने गरेका थिए ।

यही नोभेम्बरमा उनले आफ्नो इन्स्टाग्राममा आफ्नी आमाको सयौं जन्मोत्सवको अवसरमा केही यादगार फोटोसहित भावनात्मक कुराहरु पनि व्यक्त गरेका थिए ।

उनले भनेका थिए, ‘सानैदेखि उहाँले मलाई प्रेम र शान्तिको मूल्य सिकाउनुभयो । मसँग उहाँको छोरा भएकोमा आभारी हुने सयभन्दा बढी कारणहरू छन् । यो दिन मनाउन ठूलो भावनाका साथ म यी तस्बिरहरू तपाईंसँग साझा गर्दछु। तपाईंको छेउमा हरेक दिनको लागि धन्यवाद, आमा ।’

पेले ८२ वर्षको उमेरमा यो संसारबाट बिदा हुँदा सेलेस्टे १०० वर्षको उमेरमा शोकमा छिन् । तर पेलेलाई सधैँ फुटबलमा लाग्न हौसला दिएर संसारलाई एक महान खेलाडी दिएकामा फुटबलका हरेक प्रशंसक र खेलाडीहरुले ‘ब्राजिलियन मदर अफ दि इयरलाई’ सधैँ कृतज्ञता व्यक्त गर्ने छन् ।

ब्राजिलको पत्रिका ओग्लोबो १९६६ विश्वकपताका सेलेस्टेलाई ‘ब्राजिलियन मदर अफ द इयर’ घोषित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *