‘फुटबलका बादशाहले हामीलाई छाडेर गए, कहिल्यै भुल्न सकिँदैन’

काठमाडौं । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो ।

मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका थिए ।

उनी ब्राजिलको मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मिएका थिए । १५ वर्षको उमेरमा अन्तर्राष्टिय फुटबलमा डेब्यु गरेका पेलेको वास्तविक नाम भने एजिडिसरन एरेन्टस डो नासिमेन्टो हो ।

उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए। फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।

पेलेको निधनमा विश्वभरका फुटबलरहरूले शोध व्यक्त गरेका छन् । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले पेलेसँग आफ्नो तस्बिर शेयर गर्दै लेखेका छन्, ‘रेस्ट इन पिस, पेले ।’

अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लेखेका छन्, ‘पेले लाखौँ मानिसका प्रेरणा हुन् । उनको उदाहरण हिजो पनि दिइन्थ्यो, आज पनि दिइन्छ र सधैँ दिइनेछ । उनलाई कहिल्यै पनि बिर्सन सकिँदैन । उनको याद हामी फुटबलप्रेमीसँग रहनेछ । रेस्ट इन पिस, किङ पेले ।’

यस्तै ब्राजिलका स्टार खेलाडी नेयमारले इन्स्टाग्राममा लेखेका छन्, ‘पेलेभन्दा अघि १० मात्र एक नम्बर थियो । मैले यो वाक्य कहीँ पढेको थिएँ । यो राम्रो छ तर अपूर्ण छ । म भन्न चाहन्छु कि पेलेभन्दा अघि फुटबल एक सुस्त खेल थियो । पेलेले सबै परिवर्तन गरिदिए । उनले फुटबललाई कला र मनोरञ्जनमा ढालिलिए ।’

फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले पेलेसँगको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘फुटबलका बादशाह हामीलाई छोडेर गए तर उनको विरासतलाई कहिल्यै भुल्न सकिँदैन । रिप किङ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *