रहेनन् महान फुटबलर पेले

काठमाडौं। महान फुटबलर ब्राजिलका पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा उपचाररत उनको निधन भएको हो । तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले पछिल्लो समय क्यान्सर रोगबाट पीडित थिए ।

पेलेको २०२१ को सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । त्यसअघि सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो । पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् ।

पेले चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् । २०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा थिए ।

इतिहासकै उत्कृष्ट फुटबलर मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटकसम्म विश्वकप जिताएका थिए ।

पेलेको स्वास्थ्य अवस्था बिग्रँदै गर्दा विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गर्दै खेलाडी र प्रशंसकहरूले शुभेच्छा प्रकट गरिरहेका थिए ।

उनी आफूलाई फुटबलकै लागि जन्मिएको बताउने गर्थे । उनको निधनमा संसारभरका फुटबलप्रेमीहरुले शोक व्यक्त गरेका छन् ।

कतार विश्वकप चलिरहेका बेला पनि उनको स्वास्थ्य अवस्था निकै जोखिमपूर्ण बनेको खबर सार्वजनिक भएको थियो । त्यसबेला उनले प्रतिक्रिया दिएका थिए ।

पेलेले इन्स्टाग्राम मार्फत् भनेका थिए, ‘म बलियो छु । सधैंझैं नियमित उपचार गरिरहेको छु । यसका लागि चिकित्सक टोलीलाई धन्यवाद पनि दिन चाहन्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *