समय विद्रोह

घाम झुल्कँदा बिहान हुने
घाम अस्ताएर रात पर्ने
अर्थात् दिन र रात
उज्यालो र अँध्यारोको
अविराम घुमिरहने सृष्टि चक्र
सायद हामीले भन्ने गरेको
‘समय’ यही त होला नि !

सरदरका कुरा

समय र जीवन !
जीवन पनि समय नै त रहेछ
उज्यालो-अँध्यारो
दिउँसो राती, आधी आधी
घामसँगै उदाउँछ
घामसँगै अस्ताउँछ
बिहान र बेलुकासँगै
फरक यत्ति छ-
संसार सृष्टिको चक्र लामो छ
जहाँ अनगिन्ति जीवनहरु
उदाँउछन्, अस्ताउँछन्
अर्थात् जन्मिन्छन्, मर्छन् ।

तर म बागी !

सृष्टिको एउटा ‘जीव’ भएर पनि
समय चक्रभन्दा पर
अर्कै जीवन खोजिरहेको छु
जहाँ उज्यालो-अँध्यारो
बिहान-बेलुका र,
दिउँसो–राती केही नहोस्
झुल्किने र अस्ताउने नहोस्
अर्थात् समयको गणितले
जीवन बाँधिएको नहोस्
अर्थात् एउटा ‘उन्मुक्त’ जीवन ।

एउटा शङ्का

सूत्रविहीन जीवन !
जीवन झुल्किएझैँ लाग्छ
अस्ताएको बेला
जीवन अस्ताएझैँ लाग्छ
झुल्किएको बेला
जीवनको गणित यहाँ
‘फेल’ खाएको हो कि के हो ?
सत्यको खातिर
सृष्टिको सम्बन्ध नै बेचिएको देख्छु
समय कतै अड्किएर
कतै कहीँ अल्झिएर
अस्तित्वको मूल्य नै हराएको देख्छु
नबिर्सिनेगरी, नसम्झिने गरी
समयले बाटो बिराएको पो हो कि ?

बागीको अर्को विद्रोह

खै देख्दिन त म-
‘कथित’ सृष्टिको नियम
न उदाउँछ, न अस्ताउँछ
न जन्मिन्छ, न मर्दछ
न उड्दछ, न गुड्दछ
न घस्रन्छ, न हिंड्दछ
समय आज
गन्तव्यविहीन बनेको छ,
आफ्नो कक्ष र अक्ष
बिर्सिएको छ, गुमाएको छ
विधिको पर्खाल भत्किएको छ,
के साँच्चै यस्तो होला र ?
समयको पनि मृत्यु हुन्छ ?
समय पनि ‘क्र्यास’ हुन्छ ?
अर्थात् शून्यताको शुरुवात
जे सुकै मान्नुस्-
सृष्टिलाई मेरो अन्तिम प्रश्न
या समय विद्रोह…!?!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *