महान फुटबलर पेलेको स्वास्थ्य ‘नाजुक’

काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था ‘नाजुक’ बनेको छ । ८२ वर्षीय पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको छ ।

स्पेनी सञ्चारमाध्यम ‘एल स्पानोल’ ले उल्लेख गरेअनुसार चिकित्सकले उनको उच्च निगरानीमा उपचार गरिरहेको जनाएका छन् ।

तीन पटकको विश्वकप विजेता पेले क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् ।

आन्द्राको क्यान्सरबाट पीडित पेले स्वास्थ्य समस्याकै कारण कतारमा जारी विश्वकप फुटबलका खेलहरु हेर्न जान सकेका थिएनन् ।

२०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा छन् ।

इतिहासकै उत्कृष्ट फुटबलर मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटकसम्म विश्वकप जिताएका थिए ।

पेलेको स्वास्थ्य अवस्था बिग्रँदै गर्दा विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गर्दै खेलाडी र प्रशंसकहरूले शुभेच्छा प्रकट गरिरहेका छन् ।

कतार विश्वकप चलिरहेका बेला पनि उनको स्वास्थ्य अवस्था निकै जोखिमपूर्ण बनेको खबर सार्वजनिक भएको थियो । त्यसबेला उनले प्रतिक्रिया दिएका थिए ।

पेलेले इन्स्टाग्राम मार्फत् भनेका थिए, ‘म बलियो छु । सधैंझैं नियमित उपचार गरिरहेको छु । यसका लागि चिकित्सक टोलीलाई धन्यवाद पनि दिन चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *