कविता लेखन र वाचनको प्रतिस्पर्धाः ‘द पोइट आइडल’

काठमाडौं । कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ को नेपालमा पहिलोपटक अभ्यास सुरु गरिंदैछ । पुस १४ बिहीबारदेखि यस्तो रियालिटी सो प्रसारण हुँदैछ ।

कवि क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप अधिकारीले निर्माण तथा निर्देशन गर्ने उक्त सोको प्रसारण बिहीबार साँझ ८ः३० बाट हुने भएको हो ।

हरेक साता बिहीबार र शुक्रबार ‘एपी वान टेलिभिजन’ बाट प्रसारण हुने जनाइएको छ । सो प्रसारणअघि अडिसन गरिएको थियो । असोज अन्तिमसम्म भएको अडिसनबाट नेपालभरका १ सय ६२ जना छानिएका थिए ।

यसैगरी विदेशबाट ५० भन्दा बढीले अडिसनमा भाग लिएका थिए । भर्चुअल अडिसनबाट छानिएका सहभागीमध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कविहरू छानिने छन् ।

सहभागी कविहरूले कविता लेखन र वाचन गर्नेछन् । कविता लेख्नका लागि छुट्टाछुट्टै विषय दिइने आयोजकले जनाएका छन् ।

प्रतिस्पर्धीको प्रस्तुति जाँच्न निर्णायकहरु रहनेछन् । दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धीलाई भोट हाल्न पाउने छन् । अन्तिम १४ बाट हरेक हप्ता एकजना प्रतिस्पर्धी बाहिरिने छन् । अन्तिममा एक जना ‘द पोइट आइडल’ बन्नेछन् ।

कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बा, निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्तले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्ने ‘द पोइट आइडल’को विजेता कविले १० लाख रूपैयाँ पाउने छन् । यात्रा पब्लिसिङ्ग हाउसका तर्फबाट विजेता कविको ५ लाख बराबरको कवितासङ्ग्रह प्रकाशन गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *