नेपाल टी-ट्वान्टी लिग : लुम्बिनी र विराटनगर विजयी

काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको बुधबार भएका खेलमा लुम्बिनी र विराटनगर विजयी बनेका छन् ।

लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गरेको हो । टियु मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गरेको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्था र शाड्ली भान शाल्बिक ब्याटिङमा आएकामा फार वेस्टका लागि करण केसी बलिङमा आएका थिए ।

पहिलो दुई बल डट दिएकामा लाहिरु मिलान्थाले तेस्रो र चौथो बलमा दुई छक्का लगातार प्रहार गरे । पाँचौ बलमा मिलान्थाले तीन रन लिए । अन्तिम बलमा शाड्लीको नाममा तीन रन रह्यो । फार वेस्टले २० रनको लक्ष्य पायो ।

फार वेस्टका लागि हजमतुल्लाह शाहिदी र विनोद भण्डारी ब्याटिङमा आए । लुम्बिनीले बलिङमा किशोर महतो अघि सारेको थियो ।

पहिलो बलमा शाहिदीले छक्का प्रहार गरे भने दोस्रो बलमा उनले रन बनाउन सकेनन् । तेस्रो बलमा एक रन लिए ।

स्ट्राइकमा विनोद भण्डारी आएपछि चौथो बलमा १ रन लिए । पाँचौ बलमा शाहिदीले १ तथा अन्तिम बलमा भण्डारीले १ रन लिए । प्रतियोगिताको पहिलो सुपर ओभर लुम्बिनीले ९ रनले जित्यो ।

जितसँगै लुम्बिनी ४ खेलमा जितका साथ अंकसहित पहिलो स्थानमा कायमै छ । फर वेस्ट अंकका साथ चौथो स्थानमा छ ।

पोखरामाथि विराटनगरको जित

अर्को खेलमा हुसेन टलटको अलराउन्ड प्रदर्शनको मदतले विराटनगर सुपर किङ्सले जित हासिल गरेको छ । पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै विराटनगरले प्रतियोगिताको पहिलो जित हात पारेको हो ।

पोखराले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाउँदै हात पारेको हो । विराटनगरका लागि हुसेनले ३० बलमा ४ चौका र एक छक्का मद्दतले नटआउट रहँदै सर्वाधिक ५० रनको योगदान दिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रनको स्कोर तयार पारेको थियो ।

लुम्बिनी अलस्टार्स र फार वेस्ट युनाइटेजबीचको खेल सुपरओभरमा पुगेपछि टसमा ढिलाइ भएकोले यो खेललाई १९ ओभरमा झारिएको थियो।

विराटनरगका लागि हुसेन टलट र राज नाननले समान २ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *