उद्योगी-व्यवसायीका समस्या समाधान गर्ने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । उद्योगी-व्यवसायी र सरकारबीच वार्ता सकारात्मक भएको छ । बैंकको चर्को ब्याजदर र अव्यावहारिक नीतिका विरुद्ध आन्दोलनमा रहेका उद्योगी–व्यवसायी र अर्थमन्त्री विष्णु पौडेलबीच बुधबार काठमाडौंमा छलफल भएको थियो । छलफलमा अर्थमन्त्री पौडेलले समस्या समाधान गर्नेआश्वासन दिएका थिए ।

औद्योगिक क्षेत्रको समस्याप्रति आफू गम्भीर रहेको उनले बताएको उद्योगीहरुको प्रतिनिधिमण्डलका सदस्यले बताएका छन् । राष्ट्र बैंकका गभर्नरसँग सल्लाह गरेर समस्याको समाधान गर्ने पहल गरिने अर्थमन्त्री पौडेलले बताएका थिए ।

भेटमा सहभागी मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार अर्थमन्त्रीले समस्याको निकास निकाल्न प्रयास गर्ने बताएका थिए । उनले आन्दोलन फिर्ता लिन पनि आग्रह गरेका थिए।

मन्त्रीको आश्वासनपछि आन्दोलन स्थगन गरिएको छ। निजी क्षेत्रका विभिन्न संघसंस्थाको अगुवाइमा सुरु भएको आन्दोलन निष्कर्षमा नपुगेसम्म जारी रहने उद्योगीहरुले बताउँदै आएका थिए ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआइको प्रदेश १ समिति गत बिहीबारदेखि आन्दोलनरत थिए । चर्को ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा निर्देशिकाको उनीहरुले विरोध गर्दै आएका छन् ।

एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेडदर दुई प्रतिशत कायम गर्नुपर्ने, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत कायम गरिनुपर्ने उनीहरुको माग छ। बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरुले अघि सारेका छन्।

छलफलमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, सीएनआइ प्रदेश १ समितिसहित विराट व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ, सुनचाँदी व्यवसायी संघ, नाडा प्रदेश समिति र वस्तुगत संघका प्रतिनिधि सहभागी थिए ।

माग पूरा गराउन दबाबस्वरुप उद्योगीहरुले प्रदर्शन गर्दै आएका थिए । उनीहरुले बिहीबार र शुक्रबार नेपाल राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रवेशद्वारमा प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *