अपाङ्गता भएकाहरुको हितका लागि निर्देशिका ल्याउने तयारी

काठमाडौं । अपाङ्गता भएका व्यक्तिका लागि सरकारले ‘पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका’ ल्याउने भएको छ । निर्देशिका ल्याउने काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

काठमाडौंमा बुधबार आयोजित ‘अपाङ्गता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँचसम्बन्धी व्यवस्था, अभ्यास तथा भावी योजना’ विषयक छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव जमुना मिश्रले यो जानकारी दिएकी हुन् ।

अपाङ्गता भएकाहरुको शिक्षामा सूचना प्रविधिको व्यवस्था गर्नुपर्ने गरी नियमावलीले व्यवस्था गर्ने उनको भनाइ छ ।

बौद्धिक अपाङ्ता, मानसिक अपाङ्गता, अटिज्म, मस्तिष्क पक्षाघात वा श्रवण, दृष्टिविहीन भएका व्यक्तिको सिकाई आवश्यकतालाई सम्बोधन गर्न सरकारले पाठ्यक्रम, पाठ्यपुस्तक र त्यसअनुसारको शैक्षिक सामग्रीको व्यवस्था गरेको मिश्रले बताइन् ।

अपाङ्गता भएकाहरुका लागि निःशुल्क शिक्षा र छात्रवृत्ति, निःशुल्क स्वास्थ्य सेवा, सार्वजनिक सवारी साधनमा छुट र सिटमा आरक्षणको व्यवस्था गरेको जनाइएको छ ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले व्यवस्था बदलिए पनि आफूहरुको अवस्थामा परिवर्तन नआएको भन्दै ठोस एवं प्रभावकारी कानुन र कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *