जेष्ठ सदस्य मण्डलले गराए प्रदेश १ का ९२ सांसदलाई शपथग्रहण

विराटनगर । प्रदेश १ का नवनिर्वाचित सांसदहरुले आज सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित प्रदेशसभा भवनमा जेष्ठ सांसद गयानन्द मण्डलले ९२ जना सांसदलाई शपथग्रहण गराएका थिए ।

त्यसअघि मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथग्रहण गरेका थिए । कूल ९३ जना प्रदेशसभा सदस्यमध्ये पाँचजनाले आफ्नो मातृभाषामा शपथग्रहण गरेका थिए ।

मंसिर ४ गतेको निर्वाचनबाट प्रदेशसभामा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका थिए ।

प्रदेश १ मा नेकपा एमालेले ४०, नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले १ सिट प्राप्त गरेका छन् ।

सांसदहरुले शपथग्रहण गरेसँगै अब सरकार गठनका लागि छलफल हुने भएको छ । केन्द्रमा एमाले नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै अब यही गठबन्धनमा आबद्ध दलहरु मिलेर सरकार बनाउने छन् ।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले गठबन्धनमा आबद्ध दलहरु मिलेर सरकार बनाउने उल्लेख गर्दै त्यसको नेतृत्व एमालेले गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *