सहिष्णुताको यो पाटो

वसिम रिजवी नामका एक भारतीयले आफ्नो मुस्लिम धर्म परिवर्तन गरेर हिन्दु भए । उनको सबैतिर वाहवाही हुँदैछ । तर त्यही कुनै हिन्दुले धर्म परिवर्तन गरेर मुस्लिम भाको भए कति खेदिन्थे होला ?

आज क्रिश्चियनहरुको सबैभन्दा ठूलो पर्व क्रिशमस हो भगवान ईशुको जन्म भएको दिन । यो दिन क्रिशमस ट्री बनाएर सजाइन्छ ।

कतिपय उदार मनका हिन्दुहरुले पनि यो पर्व मनाउँछन् । तर संकीर्ण विचारका हिन्दुहरुले आजको दिनलाई तुलसी दिवसको रुपमा मनाउने नयाँ चलन शुरु गरेका छन् ।

तुलसी त हरेकको घरमा हुन्छ र हरेक दिन पूजा पनि गरिन्छ भने छुट्टै तुलसी दिवस किन चाहियो र ? क्रिसमस ट्रीसँग तुलना पनि किन गर्नु पर्यो ?

इस्कॉनको मन्दिरहरुमा जब अग्रेँज वा विदेशीहरु ‘हरे रामा हरे कृष्ण’ भन्दै नाच्दै चार हात उफ्रेर भजन गाउँछन् तब हिन्दुहरु भावविभोर भएर ताली बजाउँछन् ।

तर कुनै हिन्दु रहरले वा वाध्यतावश क्रिश्चियन बन्छन् तब तिनलाई धारेहात लगाउँदै डलरे र होलीमूनका चेला भनेर सत्तोश्राप गरिन्छ ।

यदि कुनै क्रिश्चियन कुनै हिन्दुको घरमा गएर बाइबल उपहार दिएर प्रभु ईशुको बखान गर्दछ तब प्रलय नै आइपुग्छ ।

त्योबेला कुनै हिन्दुले पनि ती क्रिश्चियन धर्म प्रचारकलाई सप्रेम श्रीमद्भागवत गीता उपहार दिएर यसको महात्म्य बताउन सक्छ । अर्थात् सहिष्णुता यसरी पनि सिर्जना हुन सक्छ ।

हामी अरुलाई उपदेश बाहेक अरु केही दिन भनेपछि मरिहाल्छौ झन् पैसा खर्च गर्न त परै जाओस् । ती क्रिश्चियनले धर्मकै त प्रचार गरेर बाइबल बाँडेका थिए कुनै आतंकवादको प्रचार गरेर बन्दुक त बाँडेका थिएनन् ?

अन्तमा एउटा कुरा भन्न मन लाग्यो, क्रिश्चियन र मुस्लिम जातिमा मान्छे मरेपछि गाड्ने परम्परा छ त्यसैले उनीहरुलाई छ फिट जमिनको आवश्यकता मरणपश्चात पनि पर्छ नै तर हामी हिन्दुहरुमा मान्छे मरेपछि जलाएर खरानी बनाएर नामेट गरिन्छ भने हामीमा यत्रो लोभ, लालच र ईर्ष्या किन छ ? हामी त झन् निर्लिप्त र मोहबाट मूक्त हुनु पर्ने हैन र ?

न धर्म अनुसार ‘कर्म’ गर्छन् न त धर्मको ‘मर्म’ नै बुझ्छन् । मात्र ‘मेरो मेरो धर्म राम्रो तेरो धर्म खराब’ भन्दै एक, अर्कासँग झगडा गर्छन् । धर्मले समाजमा फाटो र विग्रह ल्याउने हैन कि समाजमा ‘मानवताको संग्रह’ गर्ने हो ।

भगवान ईशुले सबैलाई सदबुद्धि दिउन् १!

-बनारस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *