तेस्रोपटक प्रधानमन्त्री बने दाहाल, शपथ भोलि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका छन् । उनले भोलि सोमबार राष्ट्रपतिबाट शपथ ग्रहण गर्नेछन् । दाहाल योसहित तेस्रोपटक प्रधानमन्त्री बनेका छन् ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा र जनमत पार्टीको समर्थनमा उनी प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म दाहाल प्रधानमन्त्री बनेका थिए ।

आइतबार एमालेसहितका दलसँग माओवादीले गठबन्धन गरेपछि सरकार बनाउने मार्ग प्रशस्त बनेको थियो ।

यसअघि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादीलगायत दल थिए ।

माओवादी र एमालेबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति बनेको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तेस्रो अवसर

दाहालले प्रधानमन्त्री बन्ने अवसर योसहित तीन पटक पाएका छन् ।

कास्कीको ढिकुरपोखरी स्थित लेवाडेमा २०११ मंसिर २६ गते जन्मिएका पुष्पकमल दाहाल कास्कीकै ढिकुरपोखरीमा हुर्के र प्रारम्भिक तहको शिक्षा पनि त्यहाँबाटै लिएका थिए ।

छविलाल दाहाल नाम भएका उनको कक्षा १० मा अध्ययनरत हुँदा त्यो नाम परिवर्तन गरी पुष्पकमल दाहाल राखेका थिए ।

२०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर मावि शिव नगरबाट एसएलसी पास गरेका उनले २०२९ मा पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरेका थिए ।

उनले २०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा बिएस्सी गरी एमपीएसम्मको अध्ययनसमेत गरेका थिए ।

चितवन भरतपुर बसाइसराइँपछि २०२६ वैशाखमा दाहालको सीता पौडेलसँग विवाह भयो । उनकी तीन छोरी र एक पनि छोरा थिए ।

दाहालले भरतपुरकै नारायणी विद्या मन्दिर मावि, नवलपरासीको डन्डा मावि र गोरखाको आरूघाट माविमा अध्यापन गरेका थिए । उनका छोरा प्रकाश दाहालको २०७४ मंसिर ३ गते निधन भएको थियो ।

२०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टी सदस्यता लिएर राजनीतिक जीवन आरम्भ गरेका दाहालले २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए ।

२०३४ सालमा चौथो महाधिवेशन, २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा दाहाल निर्वाचित समेत भएका थिए ।

दाहाल २०४१ मा नेकपा (मशाल) को केन्द्रीय सदस्य, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री बने ।

२०५१ सालमा पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री बनेका दाहाल २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरेका थिए । उनी २०५७ मा नेकपा माओवादीको अध्यक्ष बनेका हुन् ।

२०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका दाहाल २०६३ साल असार २ गते भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित बनेका थिए ।

२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका दाहाल संविधानसभाको दोस्रो निर्वाचनमा सिरहा ५ बाट निर्वाचित भएका थिए । उनी २०७३ साउन १९ गते मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *