राष्ट्रपतिले दिएको समय आज सकिंदै, दलहरु छलफलमै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय सीमा आज आइतबार साँझ पाँच बजे सकिँदैछ ।

पुस ३ गते नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति भण्डषरीले एक साताको समय दिएकी थिइन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिले आह्वान गरेकी थिइन् ।

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेका कारण दलहरुलाई मिलिजुली सरकार बनाउनु पर्ने बाध्यता छ ।

निर्वाचनमा समेत गठबन्धन गरेर गएको वर्तमान सत्तारुढ दलहरुबीचमै प्रधानमन्त्रीका विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

केही दिनयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरुको छलफल हुँदै आएको छ । छलफलबाट कुनै निष्कर्ष भने अहाउन सकेको छैन ।

दलहरु आ–आफ्नै अडानमा कायम हुँदा निष्कर्ष आउन नसकेको हो । प्रमुख तीन दलले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् ।

निर्वाचनबाट पहिलो दलको हैसियत बनाएको नेपाली कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री पाउनु पर्ने अडान लिँदै आएको छ ।

कांग्रेसले राष्ट्रपतिमा पनि दाबी गर्दै आएको छ । नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीमा दाबी गरिरहेको छ ।

सत्ता गठबन्धनभित्र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति बनेको दाबी गरिएपनि पहिलो कार्यकाल प्रधानमन्त्री को बन्ने भन्ने सहमति हुन सकेको छैन ।

सहमतिको अन्तिम प्रयासका लागि आज आइतबार गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मुख्यमन्त्रीहरुको पनि भागबण्डा बैठकले मिलाउने जानकारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *