‘पुरूषको तुलनामा महिलाको दिमाग बढी तातो’

महिलाको दिमाग पुरुषको तुलनामा बढी तातो हुने अध्ययनले देखाएको छ। बेलायतमा ४० जना व्यक्तिमा गरिएको अनुसन्धानले महिलाको दिमागको तापक्रम औसतमा पुरुषको भन्दा ०.४ डिग्री बढी पाइएको हो।

यसबारे क्याम्ब्रिजस्थित एमआरसी ल्याबोरोटोरी फर मोलेकुलर बायोलोजीले अध्ययन गरेको हो। अध्ययनले मानिसको दिमागको तापक्रम ४० डिग्री सेल्सियससम्म बढ्ने पनि देखाएको छ।

सामान्यतया मानव शरिरमा मस्तिष्क अन्य अंगभन्दा बढी तातो हुने गर्छ। बाँकी शरीरको औसत तापक्रम ३७ डिग्री सेल्सियससम्म हुँदा मस्तिष्कको औसत तापक्रम ३८.५ डिग्री सेल्सियस रहन्छ।

यो तापमान मस्तिष्कको भित्री भागमा अझ बढी हुन सक्ने उल्लेख गरिएको छ।

खासगरी महिलाको मस्तिष्कको दिनमा तापक्रम ४० डिग्री सेल्सियससम्म हुन सक्छ। अनुसन्धाताले सबैभन्दा उच्च तापक्रम ४०.९ डिग्री सेल्सियस मापन गरेको जनाएका छन्।

अनुसन्धानमा संलग्न डाक्टर जोन ओनिलले स्वस्थ मानव दिमागको तापक्रम शरीरको अन्य भागमा हुँदा भने ज्वरो आएको मानिने जति हुने पत्ता लागेको बताएका छन्।

यस्तो उच्च तापक्रम विगतमा दिमागी चोट लागेका व्यक्तिमा पाइएको उनको भनाइ छ। दिमागी तापक्रम रातको समय, सुत्नुअघि घट्ने र दिनको समयमा बढ्ने पाइएको अध्ययनले देखाएको छ।

महिलाको मस्तिष्कको तापक्रम बढी हुनुमा महिनावारीको प्रभाव हुन सक्ने जनाइएको छ। अध्ययनमा सहभागी गराइएका अधिकांश महिलाहरुको तापक्रम महिनावारी हुँदा र पछिको समयमा गरी दुई पटक लिइएको थियो।

अनुसन्धानदाताले महिनावारी भएको समयमा महिलाको औसत दिमागी तापक्रम महिनावारीपछिको महिलाको औसत दिमागी तापक्रम भन्दा ०.४ डिग्री सेल्सियस बढी पाएका थिए।

महिनावारी नहुँदाको समयमा महिलाको औसत दिमागी तापक्रम पुरुषकै बराबर पाइएको जनाइएको छ। बढ्दो उमेरसँगै मस्तिष्कको तापक्रम पनि बढ्ने शोधकर्ताले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *