छोराछोरीलाई संसार देखाउन दम्पती संसार भ्रमणमा

मानिसको जीवनमा अनेक उतारचढाव आइरहन्छन्। राम्रा दिन, नराम्रा दिन आउने जाने भइरहन्छन्। यस्ता कुराले धेरै कुरा सिकाइरहेको हुन्छ। दुःख भयो, असहज भयो भनेर निरास हुने होइन बरु कसरी अगाडिको यात्रा तय गर्ने भन्ने सकारात्मक सोचाइ राख्नु उत्तम मानिन्छ।

जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि विचलित नभइ जीवनलाई रमाइलो गरी बिताउन सक्नु अनुकरणीय हुन्छ।

यसको उदाहरण क्यानाडाको एक दम्पती बनेको छ। आफ्ना चारजना छोराछोरीसहित दम्पतीले विश्व भ्रमण सुरु गरेको छ।

उनीहरुले यसो गर्नुको विशेष कारण छ। केही वर्षदेखि आफ्ना छोराछोरीको अवस्थाबाट दम्पती तनावमा थियो।

आफ्ना चारमध्ये तीनजना सन्तानको आँखामा समस्या भएपछि उनीहरु पिरोलिएका थिए।

समस्या सामान्य नभएर दृष्टि कुनै पनि बेला गुम्न सक्ने अवस्थाको हो। अनौठो के छ भने, उनीहरुको दृष्टि गुम्न नदिन कुनै उपचार पनि छैन।

क्यानेडेली दम्पती सबस्टिन पेलेटियर र इडिथ लेमेका चारजना छोराछोरी छन्। उनीहरुलाई लिएर फरक फरक देश घुमिरहेका छन्।

यसो गर्नुको कारण हो– आफ्ना तीनजना छोराछोरीको आँखाबाट दृष्टि गुम्नुअघि संसार देखाउने इच्छा।

चारमध्ये नौ वर्षका छोराको आँखामा भने कुनै समस्या छैन।

तीनजनाको आँखाको नानी बिरामीका कारण ‘पिगमेन्ट’ नामक तत्वले ढाक्नेछ। त्यसपछि दृष्टि पुरै गुम्ने चिकित्सकले बताएका छन्।

चिकित्सकले यस्तो समस्यालाई ‘रेटिनाइटिस पिमेन्टोसा’ भनेका छन्।

यसले उमेर बढ्दै जाँदा मानिसको दृष्टि चाँडो घटेर पुरै नदेख्ने अवस्था हुन्छ।

अवस्था यस्तो भएपछि दम्पतीले निर्णय गरे– उनीहरुको दृष्टि पुरै बन्द हुनुअघि संसार देखाइदिने।

यही निर्णयपछि उनीहरुको विभिन्न देश भ्रमण सुरु भएको हो। उनीहरुको भनाइ छ, ‘आँखाको दृष्टि त कुनै न कुनै दिन जाने नै भयो, तर त्यसअघि संसारका सबैभन्दा सुन्दर ठाउँहरुको दृश्य उनीहरुमा ताजा रहोस् भन्ने हाम्रो उद्देश्य हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *