यो हो विश्वकै अग्लो स्थानमा रहेको एटिएम

विश्वको सबैभन्दा अग्लो ‘क्यास मेसिन’ चीन र पाकिस्तान बीचको खुञ्जेरब पास सीमामा ४,६९३ मिटरको उचाइमा छ । हिउँले ढाकेको पहाडका बीचमा ‘एटिएम’ मेसिन राखिएको छ ।

एटिएम मेसिन पाकिस्तानको उत्तरी गिल्जिट-बाल्टिस्टान प्रान्तस्थित खुञ्जेरब पास बोर्डरमा सञ्चालनमा छ ।

नेशनल बैंक अफ पाकिस्तानले सन् २०१६ मा राखेको यो एटिएम मेसिन सौर्य र वायु ऊर्जाबाट सञ्चालन हुन्छ । एकान्त ठाउँमा एटिएम मेसिन देखिनु साँच्चै नै असामान्य दृश्य हो ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वको सबैभन्दा अग्लो एटिएम मेसिन भनेर मान्यता दिएको यसलाई स्थापना गर्नु कम्ती चुनौतीपूर्ण थिएन ।

यो पूरा गर्न नेशनल बैंक अफ पाकिस्तानलाई करिब चार महिना लागेको थियो । मेसिनलाई नियमित रूपमा नगदको साथ मर्मत र रिफिलिङ प्रदान गर्नु पनि एक कठिन काम हो, किनकि नजिकैको बैंक पनि ८२ किलोमिटर टाढा छ ।

विश्वको सबैभन्दा अग्लो एटीएमको नजिक रहेको सोस्ट एनबीपी शाखाका शाखा प्रबन्धक जाहिद हुसेन नियमित रूपमा मेसिनको निगरानीमा जान्छन् ।

उक्त एटिएम मेसिनसम्म पुग्न उनले आँधी, बारम्बारको पहिरो र डरलाग्दा पहाडी मार्गहरू पार गर्नुपर्ने हुन्छ ।

समुद्री सतहबाट ४,६९३ मिटर अग्लो स्थानमा अवस्थित यो विश्वकै सबैभन्दा अग्लो एटिएम खासै व्यस्त भने रहँदैन ।

यसले प्रायः सीमा रक्षकहरूलाई सेवा दिन्छ जसले आफ्नो मासिक तलब यहाँबाट लिने गर्छन् । सीमित स्थानीय र यहाँबाट यात्रा गर्ने पर्यटकलाई यसले सेवा प्रदान गर्छ ।

प्रत्येक दुई हप्तामा यो मेसिनबाट १८,३५० डलर देखि २३,००० डलर निकालिने गरिएको बीबीसीले उल्लेख गरेको छ ।

पाकिस्तानको नेशनल बैंकका प्रवक्ताका अनुसार आपतकालीन मर्मतको आवश्यकता पर्दा विश्वको सबैभन्दा अग्लो एटीएममा पुग्न सामान्यतया दुईदेखि साढे दुई घण्टा लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *