कोरोना संक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह

काठमाडौं । छिमेकी मुलुकमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेकाले सरकारले नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी छिकेकी मुलुकमा नयाँ भेरिएन्टको कोरोना देखिएकाले नेपालमा पनि जोखिम बढेको उल्लेख गर्दै सतर्कता अपनाउन भनेको हो ।

‘नेपालमा हाल कोभिड–१९ को संक्रमणको अवस्था कम हुँदै गएको छ । तर विश्वव्यापीरुपमा हेर्दा केही देशहरूमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘विशेषतः हाम्रै छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ ।’

पछिल्लो समय छिमेकी मुलुकमा पुष्टि भएको बीएफ७ नाम नयाँ भेरिएन्ट हालसम्म नेपालमा देखिएको मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को संक्रमणको जोखिम फरक स्वरुपमा देखिरहेको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रुपमा दूरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनुहुन हार्दिक अनुरोध छ ।‘

मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई निगरानी बढाउन र तयारी अवस्थामा रहन सजग गराएको छ ।

उत्तरी छिमेकी चीनमा पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । भारतमा पनि केही स्थानमा संक्रमण देखिन थालेपछि त्यहाँको सरकारले सतर्कता अपनाउन भनिएको छ ।

भारतको राजधानी दिल्ली र अरु स्थानहरुमा मास्क प्रयोग गर्नेहरु फेरि बढेका छन् । सरकारले मास्क प्रयोगका साथै व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *