कांग्रेसकै नेतृत्वमा सरकार बनाउन महिला सांसदहरूद्वारा दबाब

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले अब बन्ने नयाँ सरकार कांग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार पुगेका सांसदहरुले निर्वाचनका बेला नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भनेर मत मागेको भन्दै बाचा पूरा गर्न पनि सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

नेपाली कांग्रेस निर्वाचनबाट देशकै ठूलो राजनीतिक दल भएकाले गठबन्धनभित्र पनि कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न उनीहरुको जोड छ ।

प्रधानमन्त्रीसँग भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसकी सांसद रमा पौडेलले अबको सरकार नेपाली कांग्रेस कै बन्नेमा विश्वस्त हुन आग्रह गरिन् ।

उनले गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि भएकाले गठबन्धनमा आबद्ध दलहरुले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बताइन् ।

‘अबको गठबन्धन १० वर्षसम्म जान्छ । यो गबठन्धन सुशासन, समृद्धि, स्थायित्वको लागि हो’ पौडेलले भनिन्, ‘हामीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ भनेका छौँ ।’

सांसद पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्ने भन्ने नरहेको भन्दै यी बाहेकका अन्य उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरुको पदहरुमा गठबन्धनमा आबद्ध दलहरुसँग भागबण्डा हुने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *