‘जति कुरा छन् संसारमै छन्, जे छैनन्, कतै छैनन्’

सबैलाई थाहा छ, महाभारत कुरुवंशका एकाघरका दाजुभाई बीचको लडाईँ हो। राज्य प्राप्तिको लडाईँ हो। सम्पत्तिको लडाईँ हो। हक अधिकारको लडाईँ हो। झट्ट हेर्दा यो एक परिवारको अंश विवाद हो। केवल एक परिवारको अंश विवादका नाममा जसले लाखौँको संख्यामा नरसंहार गर्यो।

यो त सतही रूपमा बुझ्न सकिने कुरा हो। तर महाभारतको भित्री कुरा के हो त? किन यो यति चर्चित छ? किन आज पनि सामयिक छ? किन उत्तिकै चासो र रुचिका साथ यसलाई पढिन्छ?
महाभारत पूर्वीय दर्शनको वृहद् विचारकोष हो। यसमा दुईमत छैन। धर्मका बारेमा। दर्शनका बारेमा। युद्ध र युद्धको विभीषिकाका बारेमा। न्याय, नीति, राजनीति, समाज, परिवार, छल–कपट, प्रेम, वासना अनि अन्य यावत् कुराहरुमा महाभारत बोलेको छ। महाभारतका पात्रहरु बोलेका छन्।

एउटा व्यक्ति र उसको आफैँभित्रको वैचारिक लडाईँदेखि लिएर राज्य राज्य बीचका कुटनीति र युद्ध सम्मका कुराहरु बोलेको छ। पात्रहरुमा अलौकिकता र कथामा अतिरञ्जना भइकन पनि महाभारत लौकिक छ। मानवीय आवरण छ। त्यसैले पात्रहरुको संवेदना र कथा यथार्थ लाग्छ।

महाभारतको महत्ता जान्नका लागि यो श्लोकबाटै धेरै कुरा बुझ्न सकिन्छ–

धर्मे च अर्थे च कामे च मोक्षे च भरतर्षभ
यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत्क्वचित्।

मानव जीवनका चार पुरुषार्थ, अर्थात धर्म, अर्थ, काम र मोक्षका बारेमा महाभारतमा जति कुरा छन् ती संसारमा छन् र जति कुरा महाभारतमा छैनन् ती संसारमा कतै पनि छैनन्।

अर्थात यो एक आफैँमा पूर्ण ग्रन्थ पनि हो। सारा दर्शनको सार हो। दर्शनका कठिन भन्दा कठिन सूत्रहरुको सरलीकृत रुप हो। त्यसैले महाभारत मेरो प्रिय किताब हो। धेरैको प्रिय कथा हो।

महाभारतसँग मेरो परिचय बिआर चोपडाको हिन्दी टिभी सिरियलबाट भयो। जसरी धेरैको परिचय भएको हुनुपर्छ। कथा, पात्र र परिवेश सबैको परिचय त्यहीँ भयो। पाण्डव बनेका पात्रहरु। कौरव बनेका पात्रहरु। कृष्ण बनेका नितिश भारद्वाज। भीष्म बनेका मुकेश खन्ना। ती यति जीवन्त र यथार्थ लाग्थे कि आजसम्मै पनि महाभारत पढ्दा र पात्रहरुबारे सोच्दा तिनै अनुहार पहिला आइपुग्छन्।

महाभारतको किताबी परिचय भने धेरै पछि मात्रै भयो। हजुरबासँग रहेको गीता प्रेसको सरल महाभारतबाट। जो हिन्दीमा थियो। सरल थियो। अनि सहजै बुझिने भाषामा थियो। त्यसपछि कृष्ण धराबासीको राधा उपन्यास। जुन राधाको आँखाबाट लेखिएको थियो। त्यसपछि विनोदप्रसाद धितालको योजनगन्धा। जहाँ सत्यवतीको कथामा महाभारत थियो।

त्यसपछि राजेश्वर देवकोटाको द्वन्द्वको अवसान। त्यसपछि बिपी कोइरालाको मोदीआइन। त्यसपछि शिवाजी सावन्तको मृत्युञ्जय। वर्षौंसम्म अनेक लेखकका अनेक दृष्टिकोण सहितका फरक–फरक पात्रका आँखाबाट चिहाइएका महाभारतका संस्करणहरु पढेपछि बल्ल गीता प्रेसको महाभारत पढ्ने आँट मिल्यो। तर एकदमै कठिन र विशृङ्खल भएको कारण औपन्यासिक स्वाद भने त्यसमा थिएन।

त्यस यता पनि महाभारतले मलाई तानिरह्यो। यति तान्यो कि आजसम्मै पनि उस्तै तानिरहेको छ। हरेक पुस्तक पढिसक्दा, हरेक पटक उत्तिकै नयाँ लागिरह्यो। कथा कण्ठै छ। कथावस्तु कण्ठै छ। कथाको शृङ्खला कण्ठै छ। पात्रहरुको मनोवृत्ति, संवाद, घटनाक्रम सबै सबै कुरा याद भइकन पनि उत्तिकै उत्सुकता जागिरह्यो।

महाभारत सरल जस्ता लाग्ने पात्रहरुका जटिल कथा हो। नैतिक र अनैतिक बीचको लडाईँ हो। धर्म र अधर्म बिचको लडाईँ हो। ज्ञान र पाखण्ड बीचको लडाईँ हो। छद्म र वास्तविकता बिचको लडाईँ हो। आफ्नै वचनको भासमा जीवनभर भासिएर देवव्रतबाट भीष्म बनेका भीष्म पितामह। सधैँ धर्म संकटमा परिरहने धर्मराज युधिष्ठिर।

अन्धा राजा र उसको दुराचारी छोराको अनैतिक निर्णयको सधैँ साक्षी बनिरहनुपर्ने नीतिज्ञ विदुर। क्षमता भएर पनि अन्योलग्रस्त अर्जुन। आफ्नै अस्तित्वको लडाईँमा हारेको कर्ण। अथवा हर एक पात्रहरु। हरेकका लडाईँ छन्। आफैँसँगको लडाईँ छन्। त्यसैले महाभारत आफैँसँगको लडाईँ हो। आफूभित्रैको लडाईँ हो।

महाभारतले सबै कुरा बताउँछ। तर सिधा केही पनि बताउँदैन। न राम्रो र नराम्रो बीचको फरक नै स्पष्ट बताउँछ। धर्मबारे बोलिरहन्छ, तर आफैँ धर्मको बारेमा अन्योल राख्छ। तर मार्ग भने देखाउँछ। सत्यको बारेमा बताउँछ, तर आफैँ सत्य र असत्यका बारेमा अलमल देखाउँछ। नीतिका कुरा गर्छ, तर स्वयं कृष्णकै नैतिकता बारे मौनता राख्छ।

जुवा, मदिरा, विवाहेत्तर सम्बन्ध, यौन विचलन, दुराचार, कपट अनि यस्ता धेरै व्यभिचारी व्यवहार हरेक पात्रहरुमा भेट्न सकिन्छ। राम्रा भनिएका या नराम्रा भनिएका, दुबै थरी पात्रहरुमा। सायद असल र खराब छुट्याउने जिम्मा भविष्यलाई छाडिदिएको पनि हुन सक्छ। कालो र गोरोको बीचबाट जसरी खैरो रङ्गमा महाभारत लत्पतिएको छ, त्यो हाम्रो जीवन जस्तै छ। अनेक रहस्यले भरिएको जस्तो।

अनेक उतारचढावले भरिएको जस्तो। अनेक छक्का पन्जा। हामी पनि त्यस्तै जीवन बाँचिरहेका हुन्छौँ नि। तर जीवन जति नै कठिन किन नहोस्? जति नै निरास किन नहोस्? जति नै अपमानजनक किन नहोस्? महाभारत हरेक पटक यही सम्झाइरहन्छ सत्यको मार्गमा हिँड। धर्मको मार्गमा हिँड। धर्ममै जय लुकेको छ।

यतो धर्मस्ततो जयः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *