प्रचुर सम्भावना, पूर्वाधार कमजोर

पूर्वमा पर्यटकीय सम्भावना भएका धेरै स्थान छन् । तिनमा आवश्यक पूर्वाधार बनाउन उति ध्यान पुगेको छैन । पूर्वाधार बनाएर पर्यटक आकर्षित गर्न सके धेरै फाइदा लिन सकिने अवस्था छ ।

स्थानीय प्रयासमा जेनतेन पर्यटन विकासका काम भएका छन् । सरकारी र अन्य सरोकारवालाको प्रयास पर्याप्त देखिएको छैन । इलाम, ताप्लेजुङ र संखुवासभाका पर्यटकीय स्थल, त्यहाँका समस्या अनि पूर्वाधारको अवस्थाबारे यहाँ चर्चा गरिएको छ ।

हराभरा डाँडामा सजिएको चियाबारी, कृषिले सुधारिएको जीवनशैली, सूर्योदय र हिमशृंखला दृश्यावलोकन जैविक, धार्मिक र सांस्कृतिक महत्त्वका अनेकन स्थान । पहाडकी रानी उपनाम पाएको इलाम जिल्लामा बितेका दशकमा यस्तै महत्त्वलाई उजागार गर्न निकै पहल गरियो । सम्भावित हरेक क्षेत्रमा केही न केही काम भएको छ । दुई दशकअघि इलाम महोत्सव आयोजना गरेर पर्यटन विकास सम्भावनाको ढोका खोलेको जिल्लामा यतिका समयमा अपेक्षित काम भने हुन सकेको छैन ।

पछिल्लो समय बिनापूर्वाधार हरेक क्षेत्रलाई पर्यटनसँग जोडेर हेर्ने चलनले पनि पर्यटनकर्मी अल्मलिने गरेका छन् । जिल्लामा पर्यटकीय गतिविधि बढाउन र पूर्वाधार निर्माणमा स्थानीय तहहरु, उद्योग वाणिज्य संघ, गैरसरकरी संस्थाहरू, सामुदायिक र धार्मिक वन, स्थानीयबासी पर्यटन विकासका लागि क्रियाशील छन् ।

तत्कालीन जिविसले विभिन्न स्थानमा गेस्ट हाउस, पोखरी, सडक लगायतमा पर्यटन लक्षित खर्च गरे पनि सबै ठाउँ उपयोगी बनेको छैन । इलाम नगरपालिकामा भ्यु टावर, चियाबारीमा ट्रेकिङ रुट, पोखरी लगायत पूर्वाधार छन् । नगरपालिकाले गरेको लगानीमा पोखरीबाहेक अन्य पूर्वाधारले पर्यटकलाई सहजता दिएको छ । मेची पर्यटन विकास समितिले चार वर्षको अवधिमा ६ करोड रुपैयाँभन्दा बढी खर्चेको छ । समितिले पोखरी संरक्षण र वन संरक्षणमा धेरै रकम खर्चिएको जनाए पनि कुनै एकै स्थानलाई मात्र ठोस विकास गर्ने उद्देश्यको देखिँदैन ।

लोपोन्मुख लेप्चा जातिको संस्कृतिको गतिलै चर्चा हुने गरे पनि त्यसको संरक्षण प्रयास कमै देखिन्छ । रेडपान्डा पाइने उत्तरी जंगलको पनि उत्तिकै गफ हाँकिन्छ । केही स्थानीयले भरमग्धुर प्रयास गरे पनि केही गैरसरकारी संस्थाले संरक्षणको पहल गरिदिए तापनि ठोस उपलब्धि देखिँदैन ।

पर्यटकीय स्थलको गुरुयोजना बनेको वर्षौं बित्यो । तर त्यसअनुसार काम भएको छैन । ‘पर्यटन विकास नहुनुको मुख्य कारण यही हो,’ पर्यटन विकासका लागि क्रियाशील धर्म गौतम भन्छन् । सडक, आवासगृह, खानेपानी, शौचालयजस्ता अत्यावश्यकीय पूर्वाधार बन्न नसक्नु र हरेक पर्यटन क्षेत्रको टुर प्याकेज नहुँदा अथाह सम्भावनाबीच पनि पर्यटनले गति लिन सकेको छैन ।

सदरमुकामसँगै सन्दकपुर, छिन्टापु, माइपोखरी, माङमालुङ, श्रीअन्तु, कन्याम, करफोक, पशुपतिनगर, फिक्कल, जमुना, जस्विरे, टोड्के झर्ना, सिद्धिथुम्का, कुटिडाँडा, मावुगायत क्षेत्र पर्यटकीय महत्त्वका छन् । पर्यटकीय महत्त्वका अधिकांश क्षेत्रसम्म पुग्ने सडक, खानेपानी, शौचायल र खान र बस्नको राम्रो प्रबन्ध हुन नसक्नुले पर्यटन उत्ति सन्तुष्ट देखिँदैनन् । हिमशृंखला दृश्यावलोकनका लागि भर्खरै छिन्टापु पुगेर फर्केको बंगाली टोली मनोरम दृश्यबाट मोहित त बन्यो तर सकडको अवस्थाले त्योभन्दा धेरै निराश पनि देखियो ।

‘यति रमाइलो स्थानमा हाम्रो क्षेत्रबाट धेरै पर्यटक आउन सक्छन्,’ कोलकाताका गौतम गुडियाले भने, ‘सडकको अवस्थाले भने सारा रमाइलोलाई बिर्साइदियो ।’ केही महिनाअघि पोखराका पर्यटनकर्मीको टोली इलाम आयो । यहाँका पर्यटकीय महत्त्वका क्षेत्रलाई खुब मन पराएका उनीहरूले जति बेला यहाँ पर्यटन प्रवर्द्धनका लागि भएका क्रियाकलापहरू अपुरो देखे अनि सुझाव दिए, ‘सरकारको मुख नताकी आफैं लाग्नुहोस् । पर्यटनमा गरिएको लगानी कहिल्यै खेर जाँदैन ।’

जिल्लाको प्रवेशद्वार कोल्वुङ किटेनीमा रहेको सूचना केन्द्रमा आएका एक जर्मन पर्यटकले भ्रमणपछि सुझाव लेखे, ‘पर्यटकीय केन्द्रमा जाने, बस्नेखाने र महत्त्व झल्कने टुर प्याकेजको व्यवस्था गर्नुपर्‍यो ।’ चर्चामा जे छ इलाम त्यही छ । हुन नसकेको काम मात्रै हो । ‘इलाम नकुदिएको हीरा हो,’ खोजकर्ता युद्ध वैद्यले वर्षौंअघि लेखिदिए । पर्यटन विकासका लागि कुद्ने क्रम जारी छ तर प्रभावकारी भने कतै देखिँदैन । यहाँको चर्चा सर्वत्र चल्छ । धेरैको गन्तव्यमा पर्छ पनि ।
धेरै पर्यटकीय स्थलको विकासका लागि महोत्सवलाई अब्बल उपाय ठानियो । स्थानीयले सडक खन्नेदेखि सक्नेसम्मका पूर्वाधार र आवश्यक सामग्री पनि जुटाए ।

महोत्सवले प्रचार बढे पनि भौतिक पूर्वाधार विकासमा खासै टेवा नदिएको निष्कर्ष निस्कियो । त्यसबेला मान्छे तान्न गरिने विविध सांस्कृतिक कार्यक्रम, खेल र तामझामले सबै रकम बाहिर जाने स्थिति आयो । राजधानीबाट महँगा कलाकार ल्याउनुपर्ने, रमाइलो गर्ने साधनका लागि ल्याइएका विभिन्न प्रकारका खेल, पिङ, सर्कसलगायत कारण पनि आयोजकले थेग्नै नसक्ने भार पर्‍यो । ‘महोत्सव गर्नुको उद्देश्य स्थानीयलाई आर्थिक रूपमा सक्षम बनाउनु हो,’ कन्याम महोत्सव गरेर थाकेका स्थानीय काजीमान कागतेले भने, ‘पैसा जति सबै बाहिर जाने भएपछि के अर्थ भो र ?’

फाइदाभन्दा नोक्सानी धेरै भएपछि अहिले महोत्सव संस्कृति हराउँदै गएको छ ।

छैन लगानी

ताप्लेजुङमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा लगायत सात हजार मिटर माथिका ११ वटा हिमशृंखला छन् । प्रसिद्धि कमाएको पाथीभरा, बाह्रैकाल पानी झरिरहने फुङफुङे झरना, धार्मिक तथा पर्यटकिय दृष्टिले आकर्षक तिम्बुङ पोखरीलगायत स्थान छन् ।

भूतपोखरी, सोदो पोखरी, हाँसपोखरी जस्ता पोखरी नै पोखरी भएको जिल्ला पनि हो । कञ्चनजंघा क्षेत्रमा दशकयता वार्षिक ५ देखि ९ सयसम्म विदेशी पर्यटक आएको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तर पर्यटन मन्त्रालयले स्थानीय स्वायत्त शासन ऐनअनुसार जिल्लालाई उपलब्ध गराउनुपर्ने पैसा लिन लगातार चिठीपत्र डेलिगेसन जानुपर्छ । त्यो पनि आर्थिक वर्षको अन्तमा फ्रिज हुने गरी रकम पठाउँछ ।

कति पर्यटक आए जिल्लाले कति पाउनुपर्ने हो भन्ने कुरा खुलाइँदैन । आफ्नो तजबिजले पठाइने गरेको सम्बन्धित निकायका कर्मचारी बताउँछन् ।

सहरी विकास मन्त्रालयले गुरुयोजना बनाएको बाहेक सरकारी निकायबाट खासै काम नभएको सरोकारवालाको भनाइ छ ।

हिमाली क्षेत्रमा बाटो, खानेपानी, राम्रो र भरपर्दो छैन । बाटामा शौचालय हिउँ पर्दा बाटो देखाउने हिउँ खम्बा पनि छैन ।

वर्षमा दुई लाखभन्दा बढी पर्यटक आउने पाथीभरा क्षेत्र व्यवस्थित बनाउन गरिनुपर्ने धेरै काम छन् । तर पर्याप्त रुपमा काम हुन सकेको छैन ।

कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकले तरकारी, नुन, भुटुनलगायत वस्तु काठमाडौंबाटै लिएर आउने गरेका छन् । ढुवानी समस्याले स्थानीय स्तरमा खोजेजति सामग्री पाउन सकिंदैन ।

र्‍याफ्टिङको मजा

संखुवासभास्थित नुमको फ्याक्सिन्दाबाट र्‍याफ्टिङ सम्भव देखेपछि केही वर्षअघि संखुवासभाको नुम पुगेका अमेरिकी नागरिक प्रिजिक ग्रिसिङ सजिलै सुनसरीको चतरा पुगे ।

खाँदबारी १२ स्थित मनकामना मन्दिर नजिकैको अरुण नदीमा भेटिएका उनले फ्याक्सिन्दाबाट मज्जा लिँदै चतरासम्म सहजै पुग्न सकिने अनुभव गरे । मनकामना मन्दिर नजिकैको अरुण नदीमा भेटिँदा प्राकृतिक छटाबीच हराइने उनले बताए ।

नुमबाट अरुण नदीमा र्‍याफ्टिङमा निस्केका उनले मनकामनासम्मको करिब ३० किमिसम्म यात्रा सजिलो भएको पाएका थिए ।

पहाडको बाटो भए पनि यहाँसम्मको यात्रामा कतै भिरालो नरहेको पाएका उनले पानीको वेग पनि त्यति धेरै नभएकाले यात्रामा कठिन नभएको सुनाएका थिए ।

मनकामनाबाट चतरासम्म बगेको अरुण नदी १ सय २० किलोमिटर छ ।

अमेरिकी नागरिक ग्रिसिङसँगै यूकेका ज्याक रेडिकिन्स र कालम स्ट्रङ पनि सजिलैसँग बिनाअवरोध फ्याक्सिन्दाबाट चतरा पुगेका थिए ।

सप्तकोसीका सहायकमध्ये सबैभन्दा ठूलो यस नदीका केही स्थानमा मात्र चट्टान रहेको र त्यसलाई हटाइए सजिलै जेटबोट चल्ने उनीहरूले बताए ।

यो रुट हुँदै जेटबोट चलाउन पनि सकिन्छ, दुई–चार स्थानमा भएका चट्टान फुटायो भने पर्यटकीय क्षेत्रको विस्तार हुने हामीले देख्यौं, ज्याक रेडिकिन्सले भने, यो रुट हुँदै र्‍याफ्टिङ गर्दा साह्रै राम्रो र रमाइलो अनुभूति गर्‍यौं, यात्रामा कतै खतरा छैन ।

तस्बिरः हरि गुरूङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *