जसको आशीर्वादले उभिएका छौं धरामा…

प्राकृतिक छटाहरुले भरिपूर्ण इलाम जिल्लाको नाम्सालिङ । यहाँ धर्तीसँग प्रथम स्पर्श भयो मेरो । पिता विष्णुकुमार शर्मा एवं माता इन्द्रकुमारी निरौलाको कनिष्ठ पुत्रीको रुपमा रहेकी म झापा, दमकको मन्दिररुपी कर्मघरमा रमाइरहेकी छु ।

हाम्रा चारजना हजुरबाहरुमध्ये जेठो हजुरबा निधिप्रसाद मेरो मानसपटलमा पटक्कै झुल्किनुहुन्न । मात्र कल्पना गर्छु– उहाँ उहाँका सहोदरझैँ हुनुहुन्थ्यो होला । जेठी हजुरआमासँग पनि मेरा आँखा चार हुन पाएनन् । जेठा हजुरबाकी कान्छी श्रीमती अर्थात् हाम्री जेठी हजुरआमा मात्र हामी माझ हुनुहुन्छ । उहाँको दीर्घजीवनको कामना गर्दै हामी माथि बर्सने आशीर्वचनको अझै बढी अपेक्षा गर्दछु ।

माहिलो हजुरबा धनप्रसादले मझेरीमा लस्करै राखेर हामीलाई दशैँको टीका लगाइदिनुहुन्थ्यो । गडरेतिर पूजा श्राद्ध आदि कर्म गराउन जाँदा लामो बिँड भएको छाता पछाडि कमिजमा सिउरिएको दृश्य स्मरणीय छ । फर्किँदा प्रसादको रुपमा ल्याउनुभएको मिस्री, सेलरोटी आदि बाटैमा दिनुहुन्थ्यो । गाम्छाको पोको फुकाउँदै गर्दा हामी हजुरबाको वरिपरि झुम्मिन्थ्यौँ ।

माहिली हजुरआमाको काल्पनिक चित्र मात्र मेरो मस्तिष्कमा छ । कतिपय अग्रजहरुसँग साक्षात्कार हुन पाइनँ । उहाँहरुको प्रत्यक्ष आशीर्वाद लिन पाइनँ । यो मेरो दुर्भाग्य हो ।

कान्छा हजुरबा नरनाथ शिक्षण पेसासँगै लेखन कार्यमा पनि सक्रिय हुनुहुन्थ्यो । कान्छी हजुरआमा मध्येकी जेठी हजुरआमाले बारीका कान्लामा लुकाएर राखेका नासपाती दिनुहुन्थ्यो । कान्छी हजुरआमाले चाहिँ भान्सामा श्लोक गुन्गुनाउदै करेला काटेको सम्झिन्छु । उहाँको बोली नरम र असाध्यै मायालु थियो ।

साहिँला हजुरबा शर्मानन्द उपाध्याय र हजुरआमा रेणुकाकै छत्रछायाँमा मेरो बाल्यकाल बितेको थियो । हजुरआमाले मुखले गाली गरे जस्तो गरेपनि माया गर्नुहुन्थ्यो । उहाँको पाककला अतुलनीय थियो । केही काम अह्राउनुपर्यो भने ‘कान्छी, सीतु यति सघा न ल, भोलिपर्सि तेरा बिहेमा केही गर्न सकिनँ भने पनि छमछमी नाच्छु’ भन्नुहुन्थ्यो ।

म भने फुरुक्क पर्दै एक अँगालो दाउरा कटेराबाट ल्याएर अँगेनाका छेउमा राखिदिन्थे । खै कसरी लेखौँ ? मेरो सिउँदो रङ्गिएको दिन काठमाडौंको गुहेश्वरी मन्दिर परिसरमा मेरी हजुरआमाका चुरा बजेनन् । उहाँका कुर्कुच्चा छोपेको सारीको फेर त्यो धुलोमा लतारिएन । उहाँको संगिनी नृत्य बिनाको मण्डपमा बेहुली बनेर बसेँ म ।

मेरा कानमा ढकाल गुरुका मन्त्रभन्दा ठूलो स्वरमा गुञ्जिरहेका थिए हजुरआमाका आश्वासनरुपी शब्द । तैपनि विश्वस्त छु– लगनगाँठो कसिनुभन्दा धेरै वर्षअघि अल्पिनुभएकी उहाँले आशीर्वाद दिनुभयो र त हाम्रो दाम्पत्य जीवनको गाडा सरल रेखामा गुडिरहेको छ ।

सुपारी चपाउँदै सिकुवाको खाटमा बसेर चिना बनाउँदै गर्नु भएका हाम्रा बा । हुलाक कार्यालयको फाइल च्यापेर लोप्चन डाँडाबाट शुक्रबारेतर्फ तेर्सिँदै गर्नु भएका हाम्रा बा । गौरी हजुरबाका गद्दीमा बसेर गफिँदै गर्नुभएका हाम्रा बा । ढकाल बाको पूजा कोठाको कुनामा बसेर चण्डीपाठ गर्दै गर्नु भएका हाम्रा बा । मकैको थाङ्ग्रोमुनि मुढामा बसेर चोया काढ्दै गर्नुभएका हाम्रा बा ।

बिर्सेको भए पो सम्झनु ! नाम्जे ढाँडको घाँस चोरी भएको सुनेपछि ‘लैजाओस् न त लैजाओस् ! जरै उखेलेर लगेन होला । पलाउला नि त फेरि । हाम्राले नखाएर के भो त ! आखिर लक्ष्मीले नै खाइन्’ भन्दै गर्दा हाम्रा बाको अनुहारमा अथाह धीरता देखेकी थिएँ । त्यसको आभा मेरो जीवनको अमूल्य अध्याय हो, जसले मलाई अरुलाई क्षमा गर्न, सहनशील बन्न र सकारात्मक दृष्टिकोण राख्न आजपर्यन्त प्रेरित गरिरहेको छ ।

अझै पनि हजुरबाले गौरी बाको पसलबाट मटरे मिठाई किनिदिए हुन्थ्यो । नवमीको दिन पुतली जस्तै बनाएर दुर्गा मित्तल हजुरबा कहाँ नौ कन्या केटी खुवाउन लगे हुन्थ्यो । जयन्ती मंगला काली… भन्दै थरथरी कामेको हातले टीका लगाइदिएर लामालामा पहेँला जमरा चुल्ठामा सिउरीदिए हुन्थ्यो । अझै कति छन् कति हाम्रा अपेक्षाहरु ।

उसैगरी हजुरआमाले भकारीमा बडहर पकाउन हाले हुन्थ्यो । आलु करेला रातो हुने गरी परपरी भुटे हुन्थ्यो । घुरेनमा सागको बिरुवा सारे हुन्थ्यो । सञ्जेल दाइको घरमा पुराण लाग्दा अघि लगाएर ‘लु हिँड’ भने हुन्थ्यो । प्रत्येक औंशीमा पहेँला टीका लगाइदिएर एक रुपैयाँको ढ्याक दिए हुन्थ्यो । पेट छाम्दै अँध्यारो मुख लगाएर छेउमा जाँदा धुवाँ लागेर कालो भएको बट्टाबाट झिकेर एक चम्चा मेलको चुक दिए हुन्थ्यो ।

अझै धित मरेको छैन हजुरआमा ! नआउनु पर्थ्यो २०५० को चैत अनि २०५३ को मंसिर ! हजुरबा हजुरआमाको साथ छुट्यो । नआउनु पर्थ्यो २०५७ भदौ, कान्छी काकीले यो लोक छोड्नुभयो । आयो उसैगरी पुसको कालो रात, मातृविहीन भयौँ । अकल्पनीय र कहालीलाग्दा दिन अनि रातहरु, जो निशर्त प्रेम दिने हाम्रा अग्रज बिनाका थिए ।

झेल्दाझेल्दै २०७४ को भदौ पनि त आएरै छाड्यो । माहिला काकाले अन्तिम श्वास लिनुभयो । यस्तैयस्तै बज्रपात नभएको होइन निरौला परिवारमा, यी दिनहरुभन्दा अघि पनि । हामीलाई यो धरामा अडिरहन सक्ने बनाउनुभयो, तर हजुरहरु हामी माझबाट अस्ताउनुभयो । हजुरहरुको परत्र कष्टरहित होस् ।

श्रद्धासुमन ।

(२०७६ माघमा प्रकाशित स्मृतिग्रन्थ ‘अनुस्मरण’ बाट । कृति लोकार्पण भएको एक वर्षपछि हाम्री जेठी हजुरआमाले पनि हामीलाई छाडेर जानुभयो।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *