सरकार र राष्ट्रपति चयन पारदर्शी हुनुपर्छ : गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार गठन र राष्ट्रपति चयनको विषय पारदर्शी हुनु पर्ने बताएका छन् ।

पार्टीको संसदीय दलको नेता चयनका लागि बुधबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पराजित थापाले अब कांग्रेसले सरकार गठनका लागि पहलकदमी लिने उल्लेख गर्दै यस्तो बताएका हुन् ।

‘नेपाली कांग्रेसले गर्ने कुन पनि निर्णय, चाहे आलोपालो होस् वा राष्ट्रपतिको सन्दर्भमा होस् । ती कुनै पनि निर्णय पारदर्शी भएनन्’ उनले भने, ‘ती कुराहरु सम्बन्धित कमिटीभित्र छलफल नभइ निर्णय भए व्यक्तिगत निर्णयको रुपमा दर्ज हुने छन् ।’

गोप्यरुपमा हुने आलोपालो लेनदेनको निर्णय पार्टीले स्वीकार नगर्ने पनि उनले बताए ।

उनले आलोपालो सरकार चलाउने विषयमा पार्टीसँग संस्थागत छलफलपछि निर्णय लिइनु पर्नेमा जोड दिँदै बन्द कोठाभित्र बसेर नेताहरुले गरेको निर्णयलाई कांग्रेस पार्टीले बोक्न नसक्ने उनले उल्लेख गरे ।

‘नेपाली कांग्रेसले कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने विषयको सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै खालको यदि समझदारी गर्छ र त्यो पार्टीसँग संस्थागत रुपमा छ भने कांग्रेस पार्टीले त्यसलाई बोक्छ । हामी त्योसँग बाधिन्छौँ’ थापाले भने, ‘तर बन्द कोठाभित्र नेताहरु बसेर गर्नुहुन्छ भने त्यसलाई नेपाली कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भनेर कसैले भन्न पाउँदैन । हामी त्यो निर्णयसँग बाधिँदैनौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *