छिटोछिटो हिंडाइले मुटुसम्बन्धी समस्या कम गर्छ : अध्ययन

अचेल मुटुको समस्या धेरैलाई देखिने गरेको छ। यो समस्याबाट पार पाउन अनेक उपाय अपनाउने गरिएको छ। त्यसमध्ये शारीरिक व्यायाम पनि महत्वपूर्ण मानिन्छ।

हालैको एक अध्ययनले छिटोछिटो हिंड्ने गर्दा मुटु रोगको जोखिम कम गर्न सकिने औंल्याएको छ।

अमेरिककन गेरियाट्रिक्स सोसाइटीको जर्नलमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार करिब एक घण्टा छिटोछिटो हिंड्ने गर्दा फाइदा पुग्छ।

एक सातासम्म छिटो छिटो हिंड्ने गर्दा मुटुको स्वास्थ्यका लागि धेरै फाइदाजनक भएको अध्ययनको निष्कर्ष छ।

वरिष्ठ फिजिसियन डा. चार्ल्स बी इटनलगायतको टोलीले अध्ययन गरी उक्त निष्कर्ष निकालेको हो। उनी ब्राउन युनिभर्सिटीका मेडिकल प्रोफेसर साथै इपिडेमोलोजिस्ट पनि हुन्।

उनले छिटो छिटो हिंडाइले मुटुसम्बन्धी समस्या धेरै हदसम्म कम हुने उल्लेख गरेका छन्।

अध्ययनका क्रममा मुटु समस्या भएका २५ हजार १८३ जना ५० देखि ७९ उमेरका महिलालाई सहभागी गराइएको थियो।

तीमध्ये १ हजार ४५५ महिलालाई १७ वर्षदेखि मुटुको समस्या थियो। उनीहरु मुटुमा गम्भीर समस्या आएर अस्पताल भर्ना भइ उपचार लिइसकेका समेत थिए।

प्रतिघण्टा ३.२ किलोमिटर हिंड्नेभन्दा र प्रतिघण्टा ४.८ किलोमिटर गतिमा हिंड्ने महिलाहरुमा ३४ प्रतिशतले मुटुसम्बन्धी समस्या कम भएको अनुभव गरेका थिए।

कम गतिमा हिंड्नेहरुमा भने २७ प्रतिशत मात्र मुटु समस्याको जोखिम कम हुने पाइएको थियो।

यस्तै, साताभरि दैनिक एक घण्टाका दरले हिंड्नेहरु भन्दा दुई घण्टा हिंड्नेहरुमा स्वास्थ्य समस्या कम पाइएको थियो।

युवावयका मानिसहरुले सामान्यतया प्रतिघण्टा ५ किलोमिटरले हिंड्ने गरेको पाइएको पनि अध्ययनले उल्लेख गरेको छ।

अचेलको व्यस्त दिनचर्यामा हिंडाइको गति बढाएर ध्यान दिने हो भने स्वस्थ मुटु कायम राख्न सकिने डा. इटनको भनाइ छ।

अध्ययनकर्ताहरुले दैनिक क्रियाकलापबाहेक नियमित शारीरिक व्यायाम गर्दा मानिसको समग्र स्वास्थ्य अवस्थामा सकारात्मक प्रभाव देखिने उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *