कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् ।

उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । कांग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए ।

०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए । दलको नेता भएकै कारण उनी ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बनेका थिए ।

पार्टीभित्रको समीकरणलाई सहज बनाउन सभापति कोइरालाले ०५६ मा अर्का नेता कृष्णप्रसाद भट्टराईलाई चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका थिए, चुनावपछि संक्षिप्त समयका लागि प्रधानमन्त्री हुने बाटो पनि दिएका थिए । तत्कालीन माओवादी द्वन्द्व व्यवस्थापनमा भट्टराई र कोइराला असफल भएपछि देउवा दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका थिए ।

०६२,६३ को परिवर्तनयता पनि देउवा चौथो र पाँचौं पटक प्रधानमन्त्री भएका छन् । उनी संसदीय दलका पछिल्ला सबै निर्वाचनमा प्रतिस्पर्धी छन् ।

०६४ मा देउवालाई पराजित गरेर पौडेल दलको नेता भएका थिए । तर, प्रधानमन्त्रीका लागि संसद्मा १७ पटक प्रतिस्पर्धा गर्दा पनि उनी विजयी भएका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *