भुटानका राजबन्दीको रिहाइ माग्दै अमेरिकामा प्रदर्शन

भुटानका जेलमा राखिएका राजनीतिक बन्दीहरुलाई आममाफीको माग गर्दै अमेरिकाको पेन्सिलभेनिया राज्यमा र्याली प्रदर्शन गरिएको छ।

‘भुटानमा राजबन्दीहरुको रिहाइका लागि ग्लोबल अभियान’ (जीसीआरपीपीबी) को अगुवाइमा र्याली आयोजना गरिएको हो।

अमेरिकी राज्य पेन्सिलभेनियाको राजधानी ह्यारिसबर्गमा आयोजित र्यालीका सहभागीले भुटानमा लामो समयदेखि जेलमा राखिएका राजनीतिक बन्दीहरुलाई आममाफी दिन माग गरेका थिए।

मानवअधिकारको पक्षमा वकालत गर्दै आएको अभियानले यस्तो र्याली पहिलो पटक आयोजना गरेको हो। र्यालीमा भुटानी समुदायको उल्लेख्य सहभागिता थियो।

क्यापिटल कम्प्लेक्स अगाडि भेला भएका भुटानी समुदायका प्रतिनिधिले भुटानमा रहेका राजबन्दीहरुको बिनासर्त तत्काल रिहाइको माग गरेका थिए।

वर्षौंदेखि भुटानको दक्षिणी क्षेत्रमा शान्तिपूर्ण रुपमा बसोबास गर्दै आएका नेपालीभाषी भुटानीको अधिकारका लागि संघर्ष गरेका कतिपय नेतालाई जेलमा राखिएको छ।

भुटानी शासकले फरक संस्कृति अँगाल्ने नेपालीभाषीलाई अन्यायपूर्ण तरिकाले देशबाट निर्वासित हुन बाध्य बनाएको थियो। शासकको यस्तो कामको विरोध गर्नेहरुलाई पक्राउ गरी जेलमा राखिएको हो।

‘भुटानी राजबन्दीहरु कुनै समय देशका शान्तिप्रिय नागरिक थिए’ अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर भुटानी नागरिकका लागि प्रजातन्त्र र मानवअधिकारको वकालत गर्नु उनीहरुको एकमात्र अपराध मानियो ।’

त्यही कारण राष्ट्रविरोधी भएको आरोप लगाउँदै कतिपयलाई जेलमा थुनिएको अभियानले जनाएको छ। भुटानको शाही सरकारले आफ्ना नागरिकलाई स्वतन्त्रता दिन अस्वीकार गरेर उनीहरुको मानवअधिकारको हननलाई लामो समयदेखि निरन्तरता दिएको अभियानको ठहर छ।

अभियानले सन् २०१९ देखि जेलमा राखिएका बन्दीहरुलाई आममाफी दिँदै रिहा गर्न माग गर्दै आएको छ। जेलमा राखिएकाहरुको परिवारका सदस्यले असह्य पीडा खेप्नुपरेको जनाइएको छ।

अभियानले गरेको प्रदर्शनमा अमेरिकामा रहेका भुटानी समुदायका विभिन्न संस्थाले ऐक्यवद्धता जनाएका थिए।

जीसीआरपीपीबी युएसए च्याप्टरका संयोजक सीएम निरौला र युवा संयोजक आशिका द्यौरालीको संयोजकत्वमा आयोजित र्यालीमा स्थानीय भुटानी नेताहरु नारद अधिकारी, टीका ढुंगाना, डा. नारद पोखरेल, समीक्षा सुवेदी, मान घलेलगायतले मन्तव्य राखेका थिए।

उनीहरुले अनाहकमा जेलमा बस्न बाध्य बनाएर भुटानी शासकले अन्याय गरिरहेको उल्लेख गरे।

त्यसैक्रममा भुटानमा जन्मकैदको सजाय भोगिरहेका चतुरमान तामाङका भाइ पासाङ तामाङले दाजुको रिहाइका लागि पहल गरिदिन निवेदन दिएका थिए।

अभियानले हालै दिवंगत भएका भुटानी समुदायका अगुवा डा. भम्पा राई, किशोर राई र अरु दुईजना भुटानी कार्यकर्ताको सम्मानमा स्मृति सभा पनि गरेको थियो।

त्यस अवसरमा भुटानी समुदायका नेता तथा पूर्व एम्नेस्टी इन्टरनेसनलका प्रिजनर अफ कन्साइन्स विश्वनाथ क्षेत्रीको पनि सहभागिता थियो। उनी हाल एसिया प्यासिफिक अमेरिकन अपेयर्स, पेन्सिलभेनियाका गभर्नरका सल्लाहकार आयोगका अध्यक्ष छन्।

यसैगरी भुटानी बुद्धिजीवी माधव शर्मा, भुटानी पूर्वसांसद केबी चुवान, भुटानी युवा नेता सोनिया प्रधान, समीक्षा सुवेदी, दीक्षा चुवान लगायतको कार्यक्रममा सहभागिता थियो।

कार्यक्रममा सहभागी भुटानी समुदायका अग्रजहरुले भुटानी नागरिकको हकका लागि युवाहरुले निरन्तर अभियान चलाउनुपर्नेमा जोड दिएका थिए।

शान्तिपूर्ण विचारको मौलिक अधिकारको सम्मान गर्दै सबै राजनीतिक बन्दीहरुलाई तत्काल रिहा गर्न भुटान सरकार र राजालाई दबाब दिन छाड्नु नहुने उनीहरुले बताएका थिए।

कार्यक्रममा भुटानमा मानवअधिकारको संरक्षणका लागि अन्तर्राष्ट्रिय संस्थाहरुलाईसार्वजनिक रुपमा वकालत गर्न आग्रह गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *