प्रदेश १ को आर्थिक पार्श्वचित्र बनाउँदै महासंघ

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको आर्थिक पार्श्वचित्र बनाउने भएको छ । यसका लागि तयारी थालिएको महासंघले जनाएको छ । तीन महिनाभित्र पार्श्वचित्र निर्माण गरिसक्ने योजनाअनुसार अध्ययन सहायकहरुलाई बुधबार विराटनगरमा प्रशिक्षण दिएको छ ।

आर्थिक क्षेत्र अन्तर्गतका कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण जानकारी समेटेर पार्श्वचित्र तयार पारिने जनाइएको छ । प्रविधि प्रयोग गरेर प्रदेश १ का १४ वटै जिल्लाका उद्योग वाणिज्य संघहरु मार्फत जिल्लाको आर्थिक क्षेत्रसँग सम्बन्धित सबै विवरण पुस महिनाभित्र संकलन गरिने छ । त्यसपछि प्रकाशनको तयारीको काम गरिने जनाइएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा.अविनाश बोहराले औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने सही तथ्यांक नहुँदा मुलुकको आर्थिक विकास हुन नसकेको बताए ।

आर्थिक क्षेत्रलाई गतिशील बनाउन सही तथ्यांक आवश्यक रहेकाले महासंघले पार्श्वचित्र निर्माणको काम अघि बढाएको उनले जनाकारी दिए । पाश्र्वचित्र बनेपछि स्थानीय र बाह्य क्षेत्रका लगानीकर्तालाई प्रदेश १ मा नयाँ लगानी भित्र्याउन र लगानी थप्न सजिलो हुने उनको भनाइ थियो ।

महासंघ प्रदेश १ का उपाध्यक्ष एवं केन्द्रीय सदस्य तथा प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले आर्थिक क्षेत्रको सही तथ्यांक नभएकै कारण आर्थिक विकासको काम अघि बढ्न नसकेको बताए ।

महासंघको पहल र समन्वयमा विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर उत्कृष्ट आर्थिक पार्श्वचित्र तयार गर्ने योजना अघि बढाएको जानकारी उनले दिए ।

सही तथ्यांक र जानकारी प्राप्त भएपछि आर्थिक विकासका लागि नयाँ नयाँ अवसरहरु समेत सिर्जना हुनेमा महासंघ विश्वस्त रहेको राउतले बताए ।

निजी क्षेत्रले आफ्नै पहलमा पहिलो पटक बनाउन लागेको आर्थिक पार्श्वचित्रले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने अर्थविज्ञ डा.अर्जुन बरालले बताए । उनले पार्श्वचित्रका माध्यमबाट कृषि क्षेत्रका सम्भावनाको पहिचान गर्ने, उत्पादन उद्योगको प्रवद्र्धन गर्ने र सेवा क्षेत्र अन्तरगत पर्यटन विकासको सम्भावना पहिल्याउने काममा ठुलो उपलब्धि थपिने दाबी गरे । पार्श्वचित्रले सवैभन्दा बढी फाइदा नीति निर्माण तहमा पुग्ने डा.बरालले बताए ।

मुलुकलाई समृद्ध बनाउने भन्ने नारा विभिन्न राजनीतिक दलहरुले भन्दै आएकोमा त्यसका लागि आवश्यक आधारभूत जानकारी र तथ्यांक नभएको अवस्थामा महासंघसँगको समन्वयमा कम्युनिटी इन्गेजमेन्टस एण्ड आउटरिच प्रालिको प्राविधिक सहयोगमा पार्श्वचित्र निर्माणको काम अघि बढेको हो ।

विज्ञ केछर आचार्यले अध्ययन एवं तथ्यांक संकलनका आधारभूत तरिका, अध्ययनको उपयोगीता र माध्यमहरुबारे अध्ययन सहायकहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै डिजिटल माध्यमबाट तथ्यांक संकलन गर्ने तौरतरिकाबारे प्रविधिविज्ञ अविन प्रजापतिले सहजीकरण गरेका थिए । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यकारिणी सदस्य एवं होटल एशोसिएसन प्रदेश नं. १ का अध्यक्ष राजन श्रेष्ठले यो पार्श्वचित्र निर्माण भएपछि प्रदेश १ को पर्यटन क्षेत्रको प्रवर्द्धन हुने कुरामा आफू विश्वस्त भएको बताए ।

प्रदेश १ को अर्थतन्त्रको अवस्था, आर्थिक गतिविधि, उत्पादन र रोजगारीको वर्तमान अवस्था झल्काउने तथ्यांक तथा विवरण, कृषि उद्योग र सेवा क्षेत्रले गरिरहेको आय, रोजगारी एवं ती क्षेत्रमा भएको लगानी र प्रतिफल झल्काउने विवरणहरु पार्श्वचित्रमा समेटिने जनाइएको छ ।

आर्थिक क्षेत्र र उपक्षेत्रका सवल तथा कमजोर पक्षको पहिचान गर्न आवश्यक पर्ने तथ्यांक तथा जानकारीहरुको सँगालोका रुपमा पार्श्वचित्र तयार हुने नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।

अनुशिक्षण कार्यक्रममा प्रदेश नं. १ मा रहेको जिल्ला/नगर उद्योग वाणिज्य संघका कार्यकारी सचिव लगायत २० जनाको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *