पुस १७ देखि टेलिकमको ‘फाइभ-जी’ सुविधा पाइने

विराटनगर । नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षदेखि ग्राहकका लागि ‘फाइभ जी’ सुविधा उपलब्ध गराउने भएको छ । जनवरी १ (पुस १७ गते) देखि यस्तो सुविधा दिइने भएको हो । यो सुविधाले इन्टरनेट र अरु सम्पर्क सहज र छरितो हुने जनाइएको छ ।

तत्कालका लागि परीक्षणका रुपमा उक्त सुविधा उपलब्ध हुनेछ । टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने तयारी भइरहेको छ ।

टेलिकमले अहिले देशका विभिन्न चार स्थानमा आन्तरिक रूपमा फाइभजी परीक्षण गरिरहेको छ । तोकिएका ती ठाउँमा खासगरी उपकरण परीक्षणको काम भइरहेको अधिकारीले जानकारी दिए ।

मोबाइल प्रविधिको पछिल्लो प्रचलित पुस्ताका रूपमा रहेको फाइभजीको प्रयोग नेपालमा पनि अवलम्बन गर्ने उद्देश्यसहित सरकारले नेपाल टेलिकमलाई परीक्षणको सुविधा दिएको थियो ।

सरकारको सोही निर्णयअनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्यान्डमा टेलिकमलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको थियो ।

प्राधिकरणले टेलिकमलाई एक वर्षसम्म फाइभजी परीक्षण गर्न पाउने समय सुविधा उपलब्ध गराएको छ । उपकरण जडान कार्य सम्पन्न भएको प्राधिकरणलाई जानकारी गराएपछि परीक्षण अवधि सुरु हुने सर्त राखिएको छ ।

टेलिकमले सोहीअनुसार उपकरण जडान र परीक्षणको काम गरिरहेको हो । आन्तरिक परीक्षण सफल भएपछि टेलिकमले सर्वसाधारणका लागि यो खुला गर्नेछ ।

जनवरीदेखि खुला गर्ने तयारी गरिरहेको टेलिकमले आफ्ना ग्राहकका लागि भने यो सुविधा निःशुल्क उपलब्ध गराउनुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *