कच्चा पदार्थ अभावले उद्योगहरु प्रभावित

विराटनगर । चिनी अभाव भएपछि बिस्कुट, चकलेट र जुस उद्योगहरु प्रभावित बनेका छन् । ती उद्योगले आफ्नो ५० प्रतिशत उत्पादन कटौती गरेका छन् । सस्तो चिनीबाट भारतमा उत्पादन भएको बिस्कुट, चकलेट र जुससँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले उत्पादन कटौती गरेका हुन् ।
यहाँका उद्योगीले भारतको तुलनामा चिनी प्रतिकेजी ४० रूपैयाँ महङ्गोमा खरिद गर्न बाध्य छन् । नेपालमा वार्षिक तीन लाख मेट्रिक टन चिनी खपत हुन्छ । उत्पादन भने सवा लाख मेट्रिक टनमात्र हुने गरेको छ ।
विदेशबाट चिनी ल्याउँदा ४० प्रतिशत राजश्व तिर्नुपर्दा चिनीको लागत प्रतिकिलो ९५ रूपैयाँ पर्ने उद्योगीहरू बताउँछन् । भारतका उद्योगले ५५ रूपैयाँ किलोको चिनी प्रयोग गर्छन् भने नेपालका उद्योगले ९५ रूपैयाँ किलोको चिनी प्रयोग गर्छन् ।
५५ रूपैयाँ किलोको कच्चा पदार्थबाट उत्पादन भएको वस्तुसँग ९५ रूपैयाँ किलोको चिनी प्रयोग गरी भएको उत्पादन बिस्कुट, चकलेट र जुसले प्रतिस्पर्धा गर्न नसक्ने उद्योगीको भनाइ छ । त्यही कारण ५० प्रतिशत उत्पादन कटौती गर्नुपर्ने बाध्या रहेको उनीहरुले बताएका छन् ।
‘चिनी र मैदा अभावले गर्दा ४० प्रतिशत पनि उत्पादन गर्न सकेका छैनौँ’ उद्योगी नवलकिशोर कावराले भने, ‘यस्तै अवस्था भइरहे भविष्यमा उद्योग बन्द गरेर श्रमिकहरुलाई बिदा गर्नु पर्ने अवस्था पनि आउन सक्छ ।’
चिनी अभाव भएपछि पूर्वी तराईमा तीन दर्जन हाराहारीमा रहेका बिस्कुट, चकलेट र जुस उद्योगले पचास प्रतिशत उत्पादन कटौती गरेका हुन् ।
नेपाल–भारत खुला सीमा भएका कारण भारतमा उत्पादित बिस्कुट, चकलेट र जुस निर्वाध रूपमा भित्रिने गरेको छ । महङ्गो कच्चा पदार्थ प्रयोग गरेर स्वदेशमा उत्पादन भएको वस्तुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको उद्योगी बताउँछन् ।