एमाले सरकारमा जाँदैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको बताएका छन् ।

सत्तारुढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यास गरिरहेको आरोप लगाउँदै उनले एमाले त्यसको विरुद्धमा रहेको बताए ।

पार्टीले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आफ्नो पार्टी सत्तामा रहेपनि, प्रतिपक्षमा रहेपनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने बताए ।

राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, सुशासनयुक्त कानुनी राज, आर्थिक र सामाजिक विकास, सामाजिक न्याय र समानता, शान्ति सुव्यवस्थालगायत नागरिक सम्मान एवम् राजनीतिक, सामाजिक स्थिरता र स्थायित्वको पक्षमा पार्टी लागिपर्ने उनको भनाइ थियो ।

देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सत्तारुढ दलहरु सरकार बनाउने खेलमा लागि परेकाले त्यसमा आफ्नो पार्टी सामेल हुन नचाहेको ओलीको तर्क छ ।

ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिए । सच्चा जनप्रतिनिधिको रुपमा संसदभित्र र बाहिर पनि वैचारिक रुपमा स्पष्ट र योजनावद्ध ढंगले अघि बढन पार्टीका सांसदहरुलाई उनले आग्रह गरे ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको आरोप पनि लगाए । बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहो¥याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको उनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *