तपाईँले बुबा आमा गुमाउनुभयो र सिङ्गो देश पाउनुभयो!
प्रिय कमरेड प्रतीक,
अभिवादन!
गौरवशाली विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन सफलताको हार्दिक शुभकामना!
जनयुद्धको कोख र काखमा हुर्किएको तपाईँलाई आन्दोलन र अभियानको कथा बुन्न जरुरी छैन। बुबाको हात समाउँदै ताते गर्ने उमेरमा बुबा लडाइँको किल्लाहरूमा देशको भविष्य बोकेर दौडिरहेका थिए। बुबाको काँधमा काँधेकुरी खेल्ने उमेरमा बुबा काँधमा देशको भविष्यको झोला भिरेर युद्धको मैदानमा दुस्मनसँग लडिरहेका थिए।
आमाको काखमा आमा…पापा.. भन्दै तोते बोली फुटाउँदै आमाको दूध चुस्ने बेला आमा कलिलो जनयुद्वलाई जोगाउँदै देशको रक्षार्थ सेन्ट्री बसिरहेकी थिइन्।
बाल्यकालमै यो देशको रक्षा गर्ने जिम्मेवारी प्रत्यक्ष परोक्ष रुपमा तपाईं र तपाईं जस्तै युवाहरूको काँधमा छोडेर देशका लागि बुबा आमाले प्राण आहुति दिनुभयो। तपाईंले बुबा आमा गुमाउनुभयो र सिङ्गो देश पाउनुभयो, अर्थात देश बाँच्यो।
बन्दुक, युद्ध, आन्दोलनकै काखमा खेल्दै हुर्कनुभएको तपाईंभित्र राजनीतिक चेत बाल्यकालबाट नै विकास भयो। पारिवारिक राजनीतिक माहौल, बुबा आमा बिनाको अभाव र संघर्षको प्रत्येक खुड्किलाहरू चढ्दै तपाईं यो उचाइमा आइपुग्नुभएको छ। कतिपय सन्दर्भमा बिना चेत, शून्य विचारवादी झोले झ्याम्टेहरूले अवसर लुटिरहेका हुन्छन्। तर तपाईं तिनीहरूभन्दा नितान्त भिन्न कित्तामा पर्नुहुन्छ।
बुबा आमाको सहादतपछि प्रतीक कार्की कसैको आशीर्वाद या शुभेच्छाले बनेको प्रतीक हुँदै होइन। विचारको आगोमा होमिएर, आन्दोलनको भुंग्रोमा पग्लिएर कोइलाबाट निस्किएको हीरा हो कमरेड प्रतीक। समाज परिवर्तनको दृढ सङ्कल्प बोकेर होमिएको हिम्मतिलो, गर्विलो व्यक्तित्व हो कमरेड प्रतीक।
अखिल क्रान्तिकारीको विश्वास र भरोसा हो कमरेड प्रतीक! विद्यार्थी आन्दोलनलाई नयाँ गति दिन कसैको बैशाखी नबन्ने, आफ्नो खुट्टामा सिलिचुङझैँ अडिग र अजर भएर उभिएको आन्दोलनको प्रतीक नै कमरेड प्रतीक हो।
आन्दोलन र क्रान्तिको बिम्ब हो प्रतीक! २१औँ राष्ट्रिय सम्मेलनसम्म एउटै संगठनको झण्डामुनि सहकार्य गर्दै हिँडेका थियौं। त्यो सम्मेलन पश्चात विद्यार्थी राजनीतिबाट विश्राम लिएपछि विद्यार्थी आन्दोलनबाट नितान्त टाढा भएको हुँ म। तर जब २३औँ सम्मेलनको चहलपहल बढ्यो र उमेर हद पारित भयो तब यो उमेर हदसँगै तपाईं जत्तिको रापिलो तापिलो, धारिलो, वैचारिक व्यक्तित्व पदाधिकारीमा पाउनु अखिल क्रान्तिकारीको माग हुनु पर्दछ। आवश्यकता हुनु पर्दछ। गौरव हुनु पर्दछ।
अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनले संसदीय अभ्यास मात्र नभइ सङ्घीय गणतन्त्रलाई व्यावहारिक ढङ्गले अभ्यास गर्दैछ। यो सङ्घीय राज्य नेपालमा अन्य संगठनहरूले पनि सिक्न जरुरी छ। प्रिय कमरेड! अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा तपाईंको महासचिव पदमा मनोनयन दर्ता भएको खबरले हर्षविभोर छु। हार्दिक शुभकामना सहित अग्रिम जितको शुभकामना व्यक्त गर्दछु।
अबको अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन तपाईं जस्तै नेतृत्वहरूले सम्हालेमा मात्र यसको अस्तित्व रहने पक्का छ। यसर्थ तपाईंलाई हाम्रो गौरवशाली संगठन अखिल क्रान्तिकारीको महासचिव पदमा विजयको अग्रिम शुभकामनासहित संगठनलाई चुस्त, दुरुस्त, क्रियाशील र प्रगतिशील पथमा डोहोर्याउँदै देश निर्माणमा निःस्वार्थ, निःसन्देह पहाडझैँ उभिएर इतिहास कोर्न सफल हुनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ पुनः शुभकामनासहित मेरो कलम बन्द गर्न चाहन्छु!
–प्रेमिला राई
पूर्व केन्द्रीय सदस्य, अखिल क्रान्तिकारी
हालः केन्द्रीय सदस्य, अखिल नेपाल लेखक सङ्घ
भक्तपुर, नेपाल

पत्र धरै मार्मिक र अाेजपुर्ण छ। क्रान्तिकारी जाे काेिलाई फेरी पनि थप उर्जा दिन्छ।