वृद्धभत्ता लिएर फर्किरहेकी वृद्धाबाट रकम लुटियो

धनकुटा। बैंकबाट वृद्धभत्ता लिएर फर्किरहेकी एक वृद्धाबाट धनकुटा बजारमा नगद लुटिएको छ। बुधबार दिउँसो धनकुटा नगरपालिका–१० की ७३ वर्षीया रत्नमाया तामाङको करिब डेढ लाख रुपैयाँ लुटिएको हो।

प्रहरीका अनुसार हुलाक टोलस्थित जिल्ला अस्पताल अगाडि सडकमा हिंडिरहेका बेला वृद्धाको रकमसहितको झोला लुटिएको हो।

माछापुछ्रे बैंकको शाखा कार्यालयबाट रकम झिकेर फर्किरहेका बेला बजारमा एकजना युवक उनको झोला खोसेर भागेका थिए। यो दृश्य सिसिटीभीको क्यामेराले खिचेको भिडियोमा देखिएको छ।

धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीका अनुसार बैंकबाट निकालेको वृद्धभत्ताको रकम १२ हजार र उनीसँग भएको अरु रकम समेत गरी करिब डेढ लाख रुपैयाँ लुटिएको हो।

वृद्धाको रकम लुट्ने युवकको खोजीसहित घटनाबारे अनुसन्धान अघि बढाइएको एसपी सिंहले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *