‘मेरा कलमका डोबहरू’ लिएर आइन् गीता

काठमाडौं। सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेख संग्रह ‘मेरा कलमका डोबहरू’ सार्वजनिक गरिएको छ। काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा कृति सार्वजनिक गरिएको हो।

यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू’ पाठकमाझ ल्याएकी हुन्।

कार्यक्रममा सर्जक अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’ मा समावेश गरेको बताइन्।

मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै लेखिका अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी गराए। उनले यसमा समावेश भएका आलेखहरूले त्यो समयका विभिन्न विषयलाई जानकारी दिने बताए।

त्यस्तै, अनेसासका पूर्वअध्यक्ष लेकालीले लेखकबाट आगामी दिनमा अन्य कृतिको आश गरेको बताए । अग्रज कलाकार संग्रौलाले गीतका कार्यको तारिफ गर्दै गीत लेखनसँगै समाजसेवामा पनि सक्रिय गीता बहुआयामिक व्यक्तित्व रहेको चर्चा गरेवरिष्ठ गीतकार वान्तुले गीता र आफ्नो जन्मस्थान भोजपुर भएको प्रंसग निकाल्दै गीत लेखनसँगै उनका अन्य कार्य प्रशंसनीयका साथै अनुकरणीय रहेको बताए।

अग्रज कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय, वरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललगायतले गीताको पत्रकारिता र सामाजिक व्यक्तित्वको चर्चा गरेका थिए।

सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मिलापको पुस अंकमा कभर स्टोरीमा रहेकी साहित्यकार राधा भण्डारीलाई कभर सम्मान गरिएको थियो भने अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो।

गीता कला मनोरञ्जन पत्रकारिताबाहेक गीत लेखनमा पनि सक्रिय छिन्। उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत स्रोता–दर्शकमाझ आएका छन्।

‘मेरा कलमका डोबहरू’ पाठकमाझ आएको दोस्रो पुस्तक कृति हो। मिलाप पब्लिकेशन प्रालिले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *