महिला टी-२० विश्वकपमा आज अस्ट्रेलियासँग खेल्दै नेपाल

काठमाडौं। मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ मा आज बुधबार नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ।

खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो १२ः१५ बजे हुने छ। नेपालले आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी अस्ट्रेलियाको सामना गर्न लागेको हो।

स्कटल्याण्डसँगको खेल पनि गुमाएपछि सुपर सिक्सको यात्रा नेपालका लागि निक्कै कठिन बनेको छ। अस्ट्रेलियालाई हराउन सकेमा भने नेपालका लागि केही आश बाँकी रहन्छ। तर, स्कटल्याण्ड बंगलादेशसँग पराजित हुनुपर्छ।

नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन्। १६ टोली सम्मिलित विश्‍वकपमा समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो।

आज बिहान हुने पहिलो बंगलादेश र स्कटल्याण्डबीचको खेलमा बंगलादेश विजयी भएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराए पनि नेपाल सुपर सिक्समा पुग्छ। स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने हुन्छ।

नेपालको महिला टोलीले सबै उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो नै पहिलोपटक हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *