स्ववियु निर्वाचन चैत ५ गते

काठमाडौं। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गरिने भएको छ। त्रिविका शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो। परिषद्का सदस्य सचिव पशुपति अधिकारीका अनुसार कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको हो।

उक्त निर्णय गरी त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरिएको छ। स्ववियुको अहिलेको कार्यसमितिको दुई वर्षको कार्यकाल रहेकामा चैत ५ गते अवधि पूरा हुँदैछ।

यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रूपमा हुन सकेको थिएन। २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो।

स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ। निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *