कांग्रेसका अग्रज नेता बस्नेतको निधन

सुनसरी । नेपाली कांग्रेसका अग्रज नेता रामबहादुर बस्नेतको ७८ वर्षको उमेरमा आज सोमबार निधन भएको छ।

काठमाडौंस्थित निवासमा उनको निधन भएको पार्टीले जनाएको छ। उनी तत्कालीन जिल्ला विकास समिति सुनसरीका पहिलो सभापति एवं नेपाली कांग्रेस सुनसरीका पूर्वसभापति हुन्।

उनी २ पटक कांग्रेस सुनसरीको सभापति भएका थिए। १० औं र ११ औं महाधिवेशनबाट उनी पार्टीको जिल्ला सभापति बनेका थिए।

प्रजातन्त्र स्थापनापछि २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनबाट बस्नेत जिविस सुनसरीको सभापति निर्वाचित भएका थिए। उनी जिविस सुनसरीका पहिलो सभापति हुन्।

यसैबीच, सुनसरी कांग्रेसले नेता बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ। सभापति केदार भण्डारी, प्रवक्ता तथा सचिव वीरेन्द्रकुमार साह र माधव घिसिङले शोक वक्ताव्य जारी गरेर दुःख व्यक्त गरेका हुन्।

बस्नेतको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार पार्टी कार्यालय इनरुवामा राखिने भएको छ। माघ ७, ८ र ९ गते सुनसरी जिल्ला अन्तर्गतका सबै वडा कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने कांग्रेसले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *