तिमी रुद्राक्ष हौ रुद्राक्ष
वसन्तको घुम्टो ओढेर
पालुवाको हरियो पहिरनमा सजिँदा
तिमी फुल्छौ सुगन्ध दिएर परपरसम्म
कहिले लुकाउँदै धेरैका गुँड
कसैको बास बस्ने स्थल
अनि कसैको गाँस बनेर
चराहरू चिरबिर गरिरहेका हुन्छन्
लुकामारी खेल्दै यत्रतत्र
मीठो संगीत गुञ्जिरहेको हुन्छ
जब तिमी उजाड हुन्छौ
शिशिरको कठ्याङग्रिँदो जाडोले
तिम्रा पातहरु भुइँभरि बग्रेल्ती झरिसकेका हुन्छन्
तिमीलाई साथ जरुरी भएको हुन्छ
तिमी उदास भएको बेला
तिमीलाई संगीतको सुमधुर धुन सुन्न मन लागेको हुँदो हो
तिमीलाई बुझ्ने, तिमीलाई उत्साह दिने
हौसला दिएर उठाउने टेवा चाहिएको हुँदो हो
तिम्रो हरियालीले कत्तिलाई छहारी दियो
कत्तिलाई शीतलता प्रदान गर्यौ
कतिले त तिम्रो आड पाएर गुजारा नै चलाए
समयलाई स्वीकार्दै जाँदा
अब तिम्रो हाँगामा पात पनि हराए
अब ती चिरबिर गर्ने पन्छीहरु पनि
तिमीलाई संगीतको मिठास भर्न आउँदैनन्
अब त केही सरीसृपहरु लुक्न आउलान्
केही बाजहरु लामो यात्राबाट थाकेर विश्राम गर्न..
कतै तिम्रो दिल दुख्ला
तिमी कठोर बन्नु है
तिमी भन्नु पात होइनौ
तिमी भन्नु तिम्रो आवरण होइन
तर ती बिचरा चराहरूको पनि केही दोष छैन
भगवानले दिएको सानो दिमाग प्रयोग गरेका हुन्
सबैलाई माफ गरिदेऊ है
तिमी रुद्राक्ष हौ रुद्राक्ष
तिम्रो पात झर्दैमा,
तिमी उत्तीस कहिल्यै हुँदैनौ
तिम्रा पालुवा फेरि पलाउँदा
फेरि उस्तै समय आउँछ
कतै हतास नभए ।
