क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा

टोरन्टो। क्यानाडाको ब्राम्पटन निवासी नेपाली मूलका शिशिर आचार्यले १० लाख क्यानेडियन डलरको चिट्ठा जितेका छन्। क्यानाडाका नेपालीले जितेको सम्भवतः यो नै हालसम्मको सबैभन्दा ठूलो धनराशिको चिट्ठा हो।

गत डिसेम्बर ३ मा भएको लोट्टो म्याक्स ड्रमा आचार्यले म्याक्समिलियन्स पुरस्कार जितेका थिए। चिट्ठा खोलिएको भोलिपल्ट अन्टारियो लटरी एण्ड गेमिङ कर्पोरेशन (ओएलजी) एपमा टिकट स्क्यान गर्दा आफुले जितेको उनले थाहा पाएका थिए।

‘पहिला विश्वासै लागेन। चिट्ठालाई सात–आठ पटक स्क्यान गरेर हेरें होला’, उनलाई उद्धृत गर्दै ओएलजीको विज्ञप्तिमा भनिएको छ, ‘पेटमा काउकुति लागेको जस्तो भयो र मेरो मुटुको धड्कन बढ्यो। मैले आफूलाई शान्त पार्न ध्यान गर्ने प्रयास गरें, तर पनि रातभर निदाउनै सकिन।’

लजिस्टिक क्षेत्रमा कार्यरत तीन सन्तानका बुबा आचार्य लामो समयदेखि नियमित चिट्ठा किन्ने गर्थे। यसअघि चिट्ठामा उनले सबैभन्दा धेरै एक हजार डलर पुरस्कार जितेका थिए।

‘जब चिट्ठा जितेको कुरा मैले श्रीमतीलाई सुनाएँ, खुसी र उत्साहका आँशु खसे’, आचार्यले भने, ूअब आफ्नो घर किन्ने सपना सम्भव भएको थाहा पाएर हामीले राहत महसुस गर्यौं।’

उनले आगामी दिनमा पनि नियमित चिट्ठा किन्ने उल्लेख गर्दै भने, ‘चिट्ठा किनिएन भने पुरस्कार पनि पर्दैन।’

(क्यानाडाबाट प्रकाशित हुने ‘नेपाल टच’बाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *