पूर्वपश्चिम राजमार्गको सुन्दरहरैँचा मालती पुलमा ४ वटा ‘सिलिन्डर बम’
विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालती पुलनजिक ४ वटा सिलिन्डर बम फेला परेको छ ।
बम राखिएको सूचना पाएपछि उक्त स्थानमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा मालती पुलबाट करिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको अवस्थामा बिहीबार दिउँसो ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
सूचना आएलगत्तै राजमार्गको करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाइएको थियो । बिहीबार बिहान ८ बजेदेखि सवारीसाधन डाईभर्ट गरिएको र घटनास्थल वरपर आवतजावतमा रोक लगाएको जोशीले बताए ।
जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैंचा–७ को मालती पुल आसपासमा द्वन्द्वकालको बम रहेको सूचना आएको थियो । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै माओवादीकै केही नेताले स्थानीय प्रशासनलाई सूचना दिएको स्रोतले बतायो । फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गरिरहेको छ ।
