भद्रपुरका लागि उडेको बुद्धको जहाज बीचबाटै काठमाडौं फिर्ता
फाइल तस्बिर
विराटनगर । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्काइएको छ । जहाजमा ७२ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए ।
उडानका क्रममा प्राविधिक समस्या आएपछि जहाजलाई काठमाडौं ‘डाइभर्ट’ गरिएको हो । ९५३ उडान नम्बर भएको जहाजको इन्जिनमा समस्या देखिएको बुद्ध एयरले जनाएको छ ।
सोमबार बिहान १०ः३८ बजे उडेको जहाजले आधा दूरी उडान गरिसकेको थियो । इन्जिनमा समस्या देखिएपछि जहाजलाई फर्काएर ११ः१५ बजेतिर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ ।
जहाजको प्राविधिक परीक्षण भइरहेको बुद्ध एयरले जनाएको छ । जहाज अवतरण गराउने क्रममा विमानस्थलमा केहीबेर अन्य उडान अवरुद्ध भएका थिए । विमानहरु आकाशमै ‘होल्ड’ गरिएका थिए । जहाजलाई अवतरण गराउनुअघि त्रिभुवन विमानस्थलमा ‘इमर्जेन्सी’ घोषणा गरिएको थियो ।
