राजावादीबीच भीम रावलले भने, ‘आन्दोलनको एजेन्डा गणतन्त्र थिएन’

सुनसरी । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले राजावादी नेता कार्यकर्ताका बीच गणतन्त्र र धर्मनिरपेक्षता जनआन्दोलनको एजेन्डा नभएको दाबी गरेका छन् । उनले ती विषय एक्कासि आएको बताए ।

सुनसरीको इटहरीमा राजावादी पक्षलाई भेला गरेर २०६२–६३ को दोस्रो जनआन्दोलनमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउने एजेन्डा नै नभएको उनले बताए ।

‘२०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमालेले पनि मानेको हो, त्यही अन्तरगत म पहिलोचोछि मनमोहनजीको पालामा मन्त्री भएँ, राजाकै अगाडि उभिएर सपथ लिएको हो,’ उनले भने, ‘२०६२–६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, धर्म निरपेक्षता पनि थिएन, संघीयता पनि थिएन ।’

संवैधानिक राजतन्त्रकै बाटोमा जाऔं भनेर आन्दोलन सुरु गरेको तर आन्दोलन नियन्त्रणभन्दा बाहिर गएपछि ती विषय कतिपयले घुसाएको रावलले बताए ।

अहिलेको अवस्था परिवर्तनका लागि दुई विकल््प रहेको उनले बताए । आफू राजनीतिशास्त्रको विद्यार्थी भएको र व्यावहारिक कुरा गर्ने बताउँदै रावलले भने, ‘जनताले एकजुट भएर निर्वाचनको माध्यमबाट पूर्णरुपमा पराजित गर्नुपर्यो । ठूलो मात्रामा अरु मान्छेलाई जिताउनु पर्यो र संविधानदेखि कहाँकहाँ परिवर्तन गर्नुपर्ने हो, गर्नुपर्छ ।’

रावललाई शनिबार विराटनगर विमानस्थलमा राजावादी पक्षधरले रावललाई स्वागत गरेका थिए । उनी सुनसरीको भरौलामा आयोजित भेट्रान फुटबल प्रतियोगिता उद्घाटन गर्न आएका थिए । नेकपा एमालेको दबावमा प्रतियोगिता दुई दिनपछि सारिएको थियो । त्यसपछि भरौलामा समर्थक भेटघाट गरेर उनी फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *