मलेसियामा यु–१९ महिला टी२० विश्वकप खेल्ने नेपाली टोली तय
काठमाडौं । मलेसियामा हुने आईसीसी यू–१९ महिला टी२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । जनवरी १८ देखि सुरु हुने उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीको उपकप्तानमा सोनी पाख्रिन छन् । गत नोभेम्बरमा यूएईमा भएको आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक यू–१९ महिला विश्वकपकमा छनोट भएको थियो ।
त्यसपछि नेपालले यू–१९ महिला एसिया कप समेत खेल्न पाएको थियो । त्यसमा नेपालले पाकिस्तानलाई हराएको थियो ।
फेब्रुअरी २ सम्म मलेसियामा हुने यू–१९ महिला टी२० विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता हुनेछ । नेपाल समूह ‘डी’ मा छ । यस समूहमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् ।
नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ । जनवरी २० मा स्कटल्याण्डसँग र जनवरी २२ मा अष्ट्रेलियासँग खेल्ने क्यानले जनाएको छ ।
नेपाली टोलीमा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा र अनु कडायत छन् ।
