साहित्यकार झमक घिमिरेलाई प्रलेस पुरस्कार

विराटनगर । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई नेपाली प्रगतिशील लेखक संघ (प्रलेस) ले धनकुटामा पुरस्कृत गरेको छ । साहित्यमा पुर्याएको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिएको प्रलेसले जनाएको छ ।

शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाल, प्रलेसकी उपाध्यक्ष नमुना शर्मा लगायतले २० हजार एक सय रुपैयाँसहित झमकलाई सम्मान गरे ।

त्यस अवसरमा उनलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरिएको थियो ।

२०३० असार २१ गते धनकुटाको कँचिडेमा जन्मिएकी घिमिरे अपाङ्गता भए पनि खुट्टाका औँलाको सहायताले साहित्य सिर्जना गर्छिन् । २०५३ सालदेखि उनले सिर्जना गर्न सुरु गरेकी हुन् ।

‘आफ्नै चिता अग्नि शिखातिर’, ‘संकल्प’, ‘मान्छे भित्रका योद्धाहरु’ लगायत कविता कृति प्रकाशन गरेकी झमकको आत्मथा ‘जीवन काँडा कि फूल’ ले २०६७ सालको मदन पुरस्कार पाएको थियो ।

साहित्यमा योगदानवापत उनलाई यसअघि कवितारामबाल साहितय प्रतिभा पुरस्कार, अस्वीकृत विचार साहित्य पुरस्कार, लैनसिंह वाङ्देल पुरस्कार, प्रबल गोरखा दक्षिण बाहु चौथो लगायत थुप्रै पुरस्कार प्राप्त गरिसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *