नवमीमा माघ ४ देखि घलिन्द्र-बलमाया स्मृति फुटबल
नवमी । पश्चिमी इलामको जीतपुरमा माघ ४ गतेदेखि स्व. घलिन्द्र बहादुर लिङ्देन-श्रीमती स्व. बलमाया जबेगु लिङ्देन स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ ।
देउमाई नगरपालिका–९, नवमीस्थित जीतपुर माध्यमिक विद्यालयको खेल मैदानमा हुने ‘खुला पुरुष नकआउट फुटबल’ को तयारी धमाधम भइरहेको आयोजक समितिका सहसचिव बेलबहादुर पत्रेले जानकारी दिए । प्रतियोगिताको तयारीस्वरुप हाल मैदान सम्याउने र व्यवस्थित गर्ने काम भइरहेको छ ।
जीतपुर-नवमी बजार व्यवस्थापन समितिको आयोजनामा हुने प्रतियोगिताका लागि टिम दर्ता गर्न माघ १ गतेसम्म खुला गरिएको जनाइएको छ । टिम दर्ताका लागि ४ हजार ५४५ रुपैयाँ तोकिएको छ । टिमहरु दर्ता भइसकेपछि माघ २ गते खेल तालिका निकालिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेता टिमले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल माघ १२ गते हुनेछ । प्रतियोगिताको प्रायोजकमा तीर्थ लिङ्देन र मिलन लिङ्देन छन् । उनीहरुले आफ्ना दिवंगत हजुरबुबा र हजुरआमाको नाममा प्रतियोगिताका लागि सहयोग गरेका हुन् ।

