स्नातक अध्ययन गर्ने विद्यार्थीलाई सरकारी कार्यालयमा इन्टर्नसिप
काठमाडौं । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी कार्यालयमा इन्टर्नसिपमा राख्ने तयारी गरिएको छ । यसका लागि सरकारले कार्यविधि बनाउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बसेको ‘राष्ट्रिय विकास समस्या समाधान समिति’ ले स्नातकमा अध्ययन गर्ने विद्यार्थीलाई इन्टर्नसिपमा राख्ने निर्णय गरेको हो ।
हाल यसका लागि कार्यविधि बनाउने काम भइरहेको छ । पुसभित्रै कार्यविधि बनाइसकेर आगामी माघदेखि यो योजना लागू गर्ने तयारी गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार सबै सरकारी कार्यालयमा विद्यार्थीलाई इन्टर्नसिप गाराउने तयारी सरकारको छ । सरकारको बजेट र नीति तथा कार्यक्रममा इन्टर्नसिपमा राख्ने विषय आइसकेको उल्लेख गर्दै उनले यसलाई यसै वर्ष कार्यान्वयन गर्न लागिएको जानकारी दिइन् ।
मन्त्री भट्टराईका अनुसार स्थानीय र प्रदेशका सरकारी कार्यालयमा पनि इन्टर्नसिपमा विद्यार्थी राख्न सकिनेबारे छलफल भइरहेको छ ।
इन्टर्नसिपमा राख्नका लागि केके पूर्वतयारी गर्ने, कति अवधि राख्ने, पारिश्रमिकको के कस्तो व्यवस्था गर्न सकिन्छ लगायत विषयमा टुंगो लगाउनुपर्ने अवस्था रहेको मन्त्री भट्टराईको भनाइ छ । यीलगायत विषयमा विश्वविद्यालयहरुसँग पनि छलफल गरिने उनले बताइन् ।
