सियो, धागो, फूल अनि माला
सुन्दर देखिने त
थरीथरी फूल गाँसिएको माला नै हो
ती फूलहरूलाई
संयोजन गराउने सियो नै हो
धागोले आफ्नो धर्म निभाई
अदृश्य हुन्छ
सियो कर्म सकिएपछि
सबैबाट टाढिन्छ
फूल र धागोको संयोजन माला
त्यो संयोजन मिलाई
पर बसेर मुस्काउने सियो
ती फूलहरू मालाका साथ प्रशंसित हुँदा
धागोले कहिल्यै इर्श्या गरेन
सियोले कहिल्यै स्थान खोजेन
सियो र धागो
भूमिका मात्र निर्वाह गरिरहन्छन्
घोचाइ र अल्झाईको अनेकन आक्षेप खेपिरहन्छन् ।
एकछिन कल्पना गरौँ
त्यो धागोको विद्रोह
संयोजित भएर सजिएको माला
भुईँ समाइ अस्तित्वहीन हुन बेर लाग्दैन
त्यस्तै सियोले आफ्नो कर्म छाडे
सुन्दर मालाको सिर्जना नै तुहिन्छ
त्यसैले सुन्दर फूललाई संयोजन गरी
सुन्दर माला निर्माणमा धागोका साथ
प्रतीकात्मक सियोहरू
सकारात्मकताका साथ क्रियाशील हुनुपर्छ
समाज रूपान्तरणका लागि ।
प्रत्येक सामाजिक पात्रहरूले
नकारात्मकतालाई त्यागेर
सुन्दर माला रुपी समाज निर्माणका लागि
छुट्टाछुट्टै गौण अस्तित्वका फूलहरू
सियोको क्रियाशीलता
धागोको त्याग र
फूलको समर्पणबाट
जसरी एउटा नवीन र सुन्दर
सिर्जना स्वरूप माला तयार हुन्छ
त्यसरी नै आफ्नो भूमिका निर्वाह गरीकन
गलामा सजिने सुन्दर माला जस्तै
नयाँ बिहानीलाई आह्वान गरौं
आखिर त्यो सुनौलो बिहानीको
रसस्वादन गर्ने हामी नै हो
आत्मसन्तुष्टिका साथ
फराकिलो छाती फिँजाइ
दृष्टिकोण परिवर्तन गरे मात्र पनि पुग्छ ।
-विराटनगर-३

Gajjab xa didi
Thank you bhai!